ध्यान केन्द्रको लालपुर्जा भिक्षु प्रज्ञाश्रीलाई प्रदान

0
Shares

नेपाल समाचारपत्र
ललितपुर
मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको नाउँमा आएको जग्गाको लालपुर्जा भिक्षु प्रज्ञाश्रीलाई हस्तान्तरण गरियो ।

ललितपुर नख्खुमा ध्यान केन्द्र बनाउन पूर्णचण्डी निवासी दशलाल डंगोल र उहाँकी श्रीमती राममाया महर्जनले दान दिनुभएको सो जग्गाको लालपुर्जा भिक्षु प्रज्ञाश्रीलाई हस्तान्तरण गरिएको हो ।दाता द्वयले आफ्ना छोराहरु राम, रामकृष्ण र रत्न महर्जनको समेत सहमतिमा करिब ती वर्ष अघि एक समारोहमा सो जग्गा दान दिएको घोषणा गर्नुभएको थियो ।

सो जग्गामा २०७३ साल चैत्र २ गते बुधबार तत्कालीन म्यानमारका राजदूत र अखिल नेपाल भिक्षुमहासंघका महासचिव भिक्षु कौण्डन्यबाट ध्यान केन्द्र निर्माणको लागि शिलान्यास गराइएको थियो । दशलाल डंगोलको नाउँमा रहेको जग्गा मालपोत कार्यालय ललितपुरबाट मंगङ्गमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको नाउँमा रजिष्टेशन पास गरिएको थियो।

शनिबार आयोजित एक समारोहकाबीच दाता डंगोल र मंगङ्गमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रका अध्यक्ष पुष्परत्न शाक्यले भिक्षु प्रज्ञाश्रीलाई लालपुर्जा हस्तान्तरण गर्नुभयो । । ‘भिक्षु प्रज्ञाश्रीको प्रवचन सुनेर विहारको लागि जग्गा दान दिने मनस्थिति पैदा गरेको हुँ । अहिलेसम्म बुद्ध मूर्ति स्थापना गरी धार्मिक धार्मिक कार्यक्रम गर्न पाउनुले पनि विहार निर्माण कार्यमा सकारात्मक उर्जा थपेको छ । ’जग्गा दाता डंगोलले भन्नुभयो ।

सो अवसरमा तीर्थ शाक्य पौसाको सहयोगमा बनेको धम्महलको पनि उद्घाटन गरिएको थियो । विभिन्न दाताको सहयोगमा भौतिक निर्माण गति लिने क्रममा सो धम्महल निर्माण भएको हो ।यस अघि शाक्यले सो स्थानमा ५ फीटको फाईबरको बुद्ध मूर्ति बनाईदिनुभएको थियो । धम्महलका का दाता तीर्थ शाक्यले जग्गादाताको उर्जा र उत्साहमा आफूले बुद्ध मूर्ति र धम्महल दान गरेर थप उत्साह मात्र थपेको धारणा राख्नुभयो ।

सो अवसरमा भिक्षु प्रज्ञाश्रीले जग्गा दानसंगै केन्द्रको भवन निर्माणले क्रमशः गति लिन थालेको बताउँदै त्यस कार्यले ध्यान शिविर सञ्चालन गरी आध्यात्मिक सुख प्राप्तिका लागि मानिसलाई प्रेरित गर्ने धारणा राख्नुभयो ।

सो अवसरमा केन्द्रका अध्यक्ष पुष्परत्न शाक्यले धर्मचित्त राखेर दान दिनुभएको जग्गामा अर्का दाताले धम्महल बनाईदिएको उदाहरणले सर्वसाधारण सबैलाई सार्वजनिक हित सरोकारलाई दान दिनुपर्ने सन्देश प्रवाह गरेको धारणा राख्नुभयो ।
अध्यक्ष शाक्यले केन्द्रको भवन निर्माणको लागि जग्गा उपलब्ध भइसकेको स्थितिमा सबै यथासक्य सहयोग गरेर ध्यान केन्द्र निर्माणलाई साकार तुल्याउनुपर्ने पनि खाँचो औल्याउँनुभयो ।

सो अवसरमा उपाध्यक्ष रामकाजी अवालेले मानिसहरुलाई आध्यात्मिक शान्ति, जीवनमा सकारात्मक उर्जा र सोचको विकासमा ध्यानको महत्व रहेको उल्लेख गर्दै ध्यानको अभ्यास, ज्ञानको चर्चा र देशविदेशबाट आउने बौद्ध भिक्षुहरु राख्न ध्यान केन्द्र बनाउन लागेको जानकारी दिनुभयो ।

समारोहमा उपाध्यक्ष अजरमान जोशी, ललितपुर महानगरपालिका – १६ का अध्यक्ष निर्मलरत्न शाक्य लगायत म्यानमार, थाईल्याण्डबाट आउनुभएका अतिथिको उपस्थिति रहेको थियो ।