डिजिटल एक्सरे मेसिनबाट डेढ वर्षमा ९ हजार लाभान्वित

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
बेनी अस्पताल म्याग्दीमा जडान गरी सञ्चालनमा ल्याइएको डिजिटल एक्सरे मेसिनले धेरै सेवाग्राहीलाई राहत मिलेको छ । खासगरी मोना हङकङको सहयोगमा अस्पताललाई उपलब्ध गराइएको कम्प्युटर रिडेबल मेसिन अर्थात् डिजिटल एक्सरे मेसिनको प्रयोगबाट सर्वसाधारण लाभान्वित भएका हुन् ।

मोना हङकङले उपलब्ध गराएको डिजिटल एक्सरे मेसिन २०७२ साल मंसिर ८ गते सञ्चालनमा ल्याइएको थियो । गत आर्थिक वर्ष २०७४÷७५ देखि चालु वर्षको गत पुस महिनाको मसान्तसम्म मात्रै मेसिनको प्रयोगबाट ९ हजार जना सर्वसाधारणले सेवा पाएका छन् । गएको वर्षमा कुल ६ हजार ३०१ जनाले डिजिटल एक्सरे मेसिनबाट सेवा पाएको बेनी अस्पताल म्याग्दीको रेडियोग्राफी विभागले जनाएको छ ।

चालु वर्षको ६ महिनाको अवधिमा मात्रै कुल २ हजार ७५८ जनाले सेवा लिएको रेडियोग्राफर विसर्जन शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार गत वर्षको साउन महिनामा ५४७, भदौमा ५५५, असोजमा ५०१, कात्तिकमा ५०६, मंसिरमा ४७२, पुसमा ३९९, माघमा ५६१, फागुनमा ५०७, चैतमा ६०४, बैशाखमा ४६४, जेठमा ६०४ र असारमा ५८१ जनाले प्रत्यक्ष रुपमा सेवा लिएका छन् । यसैगरी गत साउनमा ५३५, भदौमा ५०६, असोजमा ४३५, कात्तिकमा ३६२, मंसिरमा ३९८ र पुसमा ५२२ जनाले सेवा लिएको उहाँले बताउनुभयो ।

डिजिटल एक्सरे मेसिन जडान गरी सञ्चालनमा आएपछि स–साना रोगहरु पत्ता लगाउन सहज, कम विकिरणमा एक्सरे निकाल्न सम्भव भएकाले बिरामी र स्वास्थ्यकर्मी दुवैमा विकिरणको मात्रा कम गर्ने रेडियोग्राफर शर्माको भनाइ छ । रेडियोग्राफी विभागमा सेवा लिनका लागि म्याग्दी जिल्लासहित छिमेकी पर्वतको उत्तरी जलजला गाउँपालिकाबाट पनि सर्वसाधारणहरु आउने गरेका छन् । म्याग्दीमा आजभन्दा ४ वर्षअघि नै डिजिटल एक्सरे मेसिन जडान गरेर सर्वसाधारणलाई एक्सरे सेवा उपलब्ध गराइएको भए पनि अन्य जिल्लाहरुमा भने यो सेवा बल्ल सुरु हुँदैछ । म्याग्दीमा बेनी अस्पतालमा मात्रै डिजिटल एक्सरे सेवा उपलब्ध रहेको छ ।

डिजिटल एक्सरे मेसिनलाई निरन्तर रुपमा सञ्चालन र बिग्रिएको खण्डमा मर्मतसम्भार गर्नका लागि मोना हङकङले छुट्टै अक्षयकोषको स्थापना समेत गरिदिएको छ । रोजगारको सिलसिलामा प्रवासमा रहेका म्याग्देलीसहित अन्य नेपालीहरुले विभिन्न समयमा अस्पताल र जिल्लाको सामाजिक क्षेत्रमा सहयोग गर्नुका साथै योगदान पु¥याउँदै आइरहेका छन् । कहिलेकाहीं बिजुली बत्तीको भोल्टेज अपनडाउनका कारण एक्सरे सेवाका लागि मेसिन सञ्चालन गर्न भने समस्या हुनेहुँदा आपत्कालीन अवस्थामा बिरामीलाई तत्कालै सेवा दिन समस्या हुने गरेको छ ।

एक्सरे मेसिनलाई बत्ती नभएको समयमा पनि सञ्चालन गर्नका लागि ४५ देखि ५० केभी क्षमताको जेनेरेटको आवश्यकता परेको हुँदा अस्पताल विकास समितिमार्फत गण्डकी प्रदेश सरकारलाई सहयोग माग गरिएको छ । यसैबीच आगामी दिनमा रेडियोग्राफी विभागमा बिरामीको चाप थेग्न र सेवालाई थप प्रभावकारी तथा गुणस्तरीय बनाउन डाइरेक्ट डिजिटल रेडियोग्राफी मेसिनको आवश्यकता महशुस गरिएको छ । १५ शैया क्षमताको अस्पताल ५० शैयामा रुपान्तरण भएपछि सो अनुसार विभागमा जनशक्तिको आवश्यकता पनि परिरहेको जनाइएको छ ।