सामुदायिक विद्यालयमा पूर्वाधारको अभाव

0
Shares

काठमाडौँ, नेपालका सार्वजनिक विद्यालय भौतिक पूर्वाधारको अभावसहित विभिन्न समस्या भोगिरहेकाले उत्कृष्ट गुणस्तरको शिक्षा दिन नसकिएको शिक्षाविद्को धारणा रहेको छ ।

धनकुटाको मुगा गाविसमा अवस्थित राम माविको ७२ औँ वार्षिकोत्सवका पूर्वसन्ध्यामा उहाँहरुले नेपालका सामुदायिक विद्यालयमा स्रोतसाधनको कमी, विद्यालयमा राजनीति र झण्डै एक घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

विसं २००४ मा निम्न माविका रुपमा स्थापित सो विद्यालयले माध्यमिक हुँदै उच्चमाध्यमिक विद्यालयको स्वीकृति प्राप्त गरेको थियो । विसं २०६५ देखि सो विद्यालयले माध्यमिक विद्यालय तहको हेल्थ एजुकेशनको कक्षा सञ्चालन गर्दै आएको छ । एउटा पक्की भवनसहित १० कच्ची भवन रहेको सो विद्यालयमा २०६५ सालको प्रवेशिका परीक्षामा ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको थिए ।

विद्यालय व्यवस्थापन समितिका मानार्थ अध्यक्ष अजितनारायण थापाले नेपालका सामुदायिक विद्यालय पूर्वाधारको कमीबाट ग्रस्त रहेको बताउँदै विद्यालयको विकासका लागि पूर्वाधार पर्याप्त तथा स्रोतसाधन सम्पन्न हुनुपर्ने विचार व्यक्त गर्नुभयो । विद्यालयका पूर्वप्रधानअध्यापक चिरञ्जीवी घिमिरेले स्रोतसाधनको कमी भए पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जिकिर गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य सुरजनारायण सिंह थापा, वरिष्ठ शिक्षाविद् इन्द्र थापा, २८ वर्षसम्म शिक्षकका रुपमा रहनुभएका रामकुमार शाह, प्रअ चन्द्रकुमार राईलगायतले गाउँबाट स्थानीय बासिन्दा पलायन भएकाले जनघनत्व घट्दै गएकाले विद्यालयका विद्यार्थी घट्न सक्ने चिन्ता व्यक्त गर्नुृभयो ।