सरोज यादव, विराटनगर ।
बैंकहरुले मनपरी ढंगले आफूखुसी ब्याजदर बढाएको भन्दै आन्दोलित बनेका मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरुले आइतबार पहिलो चरण अन्तर्गत सिडियो कार्यालय मोरङ र राष्ट्र बैक विराटनगर शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा आन्दोलनको पहिलो चरण अन्तर्गत प्रमुख जिल्ला अधिकारी र राष्ट्र बैक विराटनगरका प्रमुखमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको सुरुवात गरेका हुन् ।
बैंकले १२ देखि १८ प्रतिशतसम्म ब्याजदर पु¥याएको भन्दै उद्योगीहरु आन्दोलित भएका हुन् । प्रथम चरणका कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, विराटनगरस्थित नेपाल राष्ट्रबैंकलगायत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएका छन् । यस्तै उनीहरुले माघ २० देखि २३ गतेसम्म हरेक दिन धर्ना दिने आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् ।
माग सम्बोधन नभए दोस्रो चरणमा माघ २४ गते सम्पूर्ण उद्योग व्यवसायको साँचो जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई बुझाउने र सोही दिन नेपाल राष्ट्र बैंकको मूल गेटमा तालाबन्दी गरेर निरन्तर धर्ना दिने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । बैंकको ब्याजदरले पलायन हुनुभन्दा जस्तोसुकै मूल्य चुकाउन आफूहरु तयार रहेको उनले बताए ।
हामीलाई आन्दोलनमा जान बाध्य बनाइयो उनले भने बैंकको चर्काे ब्याजदरका कारण उद्योग ब्यापारबाट पलायन हुनुभन्दा हामी जस्तो सुकैमूल्य चुकाउन तयार छौ । आफूका माग सम्बोधन नहुन्जेल आन्लोदनबाट विश्राम नलिने पनि उनले बताए । प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आइरहेका बेला बैंकले मनोमानी रुपमा ब्याज बढाएको भन्दै संगठन र संघ आन्दोलित भएका हुन् । संघ र संगठनले संयुक्त रुपमा मोरङका प्रमुख जिल्ला अधिकारी र राष्ट्र बैक मार्फत ज्ञापन बुझाएर सांकेतिक रुपमा आन्दोलनको गरेका हुन् ।
बैंकको बढ्दो ब्याजदरकै कारण उद्योगहरु संकटग्रस्त भएको उनीहरुको भनाइ छ । आफूहरुले लगानीमैत्री वातावरण बनाउन पटकपटक सवै सरोकारवालाहरुलाई सुझाव दिएको भएपनि सरकारले आफूहरुका मागप्रति बेवास्ता गरेको अध्यक्ष घिमिरेले गुनासो गरे ।
पछिल्लोपटक बैंकहरुले वृद्धि गरेको ब्याजका कारण लगानीकर्ताहरु हतोत्साहित भएको उद्योगीहरुको भनाइ छ् । मोरङ ब्यापार संघका कार्यवाहक अध्यक्ष सुनिल टिब्रेवालले केही महिनाअघि दुवै संस्थाले प्रधानमन्त्रीसहितका सरोकारवाला मन्त्रीहरुलाई भेटेर लगानीमैत्री वातावरण बनाउन सुझाव दिएको बताए ।
तर सम्बन्धित निकायबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएकाले विरोधमा उत्रन बाध्य भएको बताए । उनीहरुले नेपाल राष्ट्रबैंक मार्फत उद्योग, व्यवसाय क्षेत्रको राहतका लागि उत्पादनमूलक उद्योगहरुलाई प्रवाह भएको ऋणमा अधिकतम् ७ र व्यवसायिक क्षेत्रमा ९ प्रतिशतसम्म ब्याजदर कायम गर्न माग समेत गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै सम्बन्धीत निकायमा तत्काल हुबहु पठाउने नेपाल राष्ट्र बैंक विराटनगर शाखाका निर्देशक विनोद आचार्यले बताए । मोरङ, सुनसरी औद्योगिक करिडोरमा साना–ठूला गरी ६ सयभन्दा बढी उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगमा ८० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।











प्रतिक्रिया