निर्वाचनका बाचा पूरा गर्दै सांसद दवाडी

0
Shares

यदुप्रसाद भट्ट, गोरखा ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट गण्डकी प्रदेश सभामा निर्वाचित प्रकाशचन्द्र दवाडी यति बेला निर्वाचनताका आफूले बोलेका बाचा पूरा गर्दै छन् ।

राज्यको ढुकुटी खर्चेर विलासी सवारी साधन खरिद गरेको समाचार सञ्चारमाध्यममा भाइरल भइरहेकै बेला दवाडीले आफूले एक वर्षसम्म प्राप्त गरेको सम्पूर्ण तलब भत्ता निर्वाचित क्षेत्रमा खर्चेका छन्।

संघीय र प्रदेश सरकारका मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको, मुकाममै घर भएर पनि सांसदले घरभाडा लिएकोजस्ता समाचारलाई आझेल पार्दै उनले आफ्नो इलमबाट कमाएको मुनाफाको निश्चित हिस्सा कटाएर जम्मा गरेको रकम स्वास्थ्य र शिक्षामा खर्चिए।

हालै प्रदेश सदस्य दवाडीले पत्रकार सम्मेलन गरेर एक वर्षमा १२ लाख २१ हजार २ सय २० रुपियाँ नगद र ८० वटा प्लास्टिक कुर्सी निर्वाचन क्षेत्रको विकासका लागि खर्च गरेको विवरण सार्वजनिक गरेका छन्।

‘प्रदेशसभामा प्रवेश गरेको एक वर्षमा मेरो खातामा तबल र भत्ता बापत ७ लाख ३० हजार ३ सय १५ रुपियाँ जम्मा भएको रहेछ’, उनले भने– ‘सो रकममा मैले जापानमा हस्तकलाको व्यापारबाट आएको मुनाफाबाट केही प्रतिशत कटाएर जम्मा गरेको रकम आफ्नो निर्वाचन क्षेत्रका लागि खर्चिएको छु ।’

महाभूकम्प ०७२ को केन्द्र बारपाक दवाडीको निर्वाचन क्षेत्रमा पर्छ । दवाडीले आफू निर्वाचित भएको क्षेत्र अझैसम्म पनि सुलभ शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनुपरेको अवस्थामा सरकारी सुविधा लिन मनबाटै नचाहेको बताए। जनताको प्रतिनिधि जनसेवाकै लागि चुनिएको बताउँदै सदस्य दवाडीले राजनीति सेवाका लागि भएको उल्लेख गरे।

२०७४ माघ ७ गते प्रदेश सभा सदस्यको हैसियतमा सपथ खाए लगत्तै सरकारी सुविधाबापतको रकम निर्वाचन क्षेत्रमा खर्चिने प्रतिबद्धता जनाएका थिए।

उनले त्यही कुराको स्मरण गर्दै जनतासामु गरेको प्रतिबद्धता पूरा गर्न अझै धेरै बाँकी रहेको बताए । अहिले पनि अधिकांश समय निर्वाचन क्षेत्रका जनतासँग बिताएको उनको भनाइ छ ।

उनले सो रकम निर्वाचन क्षेत्रका व्यक्तिहरुको उपचार, विभिन्न विद्यालयहरुका लागि आर्थिक सहयोग, एम्बुलेन्स खरिदका लागि सहयोग, आमा समूहका लागि कुर्सी खरिद, तातोपानी क्षेत्र संरक्षणका लागि खर्चिएको विवरण सार्वजनिक गरेका छन् ।

दवाडी नेपाली कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित प्रदेश सदस्य हुन्।