दुई सुरक्षा निकायबीच निकटता ल्याउन स्व. कृष्णमोहन श्रेष्ठको योगदान प्रेरणादायी:आइजीपी खनाल

0
Shares

नेपाल समाचारपत्र काठमाडौं ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देश र नागरिकलाई केन्द्रबिन्दुमा राखेर दुई सुरक्षा निकायहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच निकटता ल्याउन सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठको योगदान प्रेरणादायी र अमूल्य रहेको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ र उहाँकी धर्मपत्नी स्व. नुडुप श्रेष्ठको स्मृतिमा सशस्त्र प्रहरी बल, गण हेडक्वाटर नम्बर २१ गण खुमलटार, ललितपुरमा कृष्णमोहन-नुडुप प्रतिष्ठान काठमाडौंद्वारा शनिबार आयोजित १६औं वार्षिक श्रद्धाञ्जली सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले स्व. कृष्णमोहन श्रेष्ठ एक उर्जावान, प्रभावशाली, सालीन र कनिष्टहरूप्रति प्रेमभाव गर्ने व्याक्तित्वको रूपमा रहेको स्मरण गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले कृष्णमोहन-नुडुप कार्यदक्षता पुरस्कार नेपाल प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक बिनिता थापा मगर र सशस्त्र प्रहरी बलतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक थमानसिंह राईलाई जनही नगद ७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले सूर्य रेग्मी उत्कृष्ट अंगरक्षक पुरस्कार सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्द सुवेदीलाई प्रदान गर्नुका साथै २ जनालाई कृष्णमोहन-नुडुप छात्रवृत्ति समेत प्रदान गर्नुभयो ।

सो अवसरमा श्रद्धाञ्जली सभाका प्रमुख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, बिशेष अतिथि सशत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत अन्य अतिथिहरूले स्व. कृष्णमोहन श्रेष्ठ र स्व. नुडुप श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली एवं पुष्पगुच्छा अर्पण गर्नुभयो ।

कृष्णमोहन-नुडुप प्रतिष्ठानका अध्यक्ष गोबिन्द दास श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू, प्रतिष्ठानका पदाधिकारीहरू एवं संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।