धुलिखेलमा शिक्षक दरबन्दी मिलान गरिँदै

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
धुलिखेल नगरपालिकाले आउँदो शैक्षिक सत्र देखि शिक्षकहरुको दरवन्दी ब्यवस्थापन गर्ने भएको छ । दरबन्दी ब्यवस्थापनका लागि आवश्यक गृहकार्य भईरहेको शिक्षा शाखाले जानकारी दिएको छ ।

धुलिखेल नगरपालिकामा कक्षा १ देखि १२ सम्म संचालित माध्यमिक तहका ५ वटा विद्यालय छ भने कक्षा १० सम्म संचालित ६ वटा विद्यालय रहेका छन् । आधारभूत निम्न माध्यमिक विद्यालय १ देखि ८ सम्म ९ वटा, प्राथमिक तह १ देखि ५ सम्म १० वटा, १ देखि ४ सम्म १ वटा, कक्षा १ देखि ३ सम्म ४ वटा (गुम्बा समेत) र कक्षा १ र २ गरी १ वटा विद्यालय छन् । बालविकास केन्द्र समेत गरी ३७ वटा विद्यालयमा ४ हजार ३ सय ५१ विद्यार्थीहरुका लागि ३ सय ४४ शिक्षक कार्यरत छन् ।

शिक्षा शाखाले तयारी गरेको गृहकार्य अनुसार धेरै विद्यार्थी भएको तर शिक्षक नभएको स्थानमा थोरै विद्यार्थी र धेरै शिक्षक भएको स्थानबाट ब्यवस्थापन गर्ने र तत्कालको समस्या समाधान गर्ने रहेको छ । मण्डलीदेवी प्रावि धुलिखेल ३ मा १३ विद्यार्थीका लागि ६ जना शिक्षक कार्यरत छन् । २.१७ विद्यार्थी बराबर एक शिक्षक रहेको उत्त विद्यालयमा बाल विकास केन्द्र मात्रै सचालन गरी उक्त विद्यालयलाई पञ्चकन्या आधारभुत विद्यालयमा मर्ज गर्नु पर्ने प्रस्ताव गरिएको छ । शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरीका अनुसार ठाकुर आधारभुत निमावी धुलिखेल ११ मा ९ जना विद्यार्थी छन् । ४ जना शिक्षक रहेको उक्त विद्यालयलार्य तह घटाउने र एक जना शिक्षक हटाउने तथा विद्यार्थी संख्या बढाउने प्रस्ताव गरिएको छ । विद्यार्थी भर्ना अभियानलाई सघन रुपमा सञ्चालन गर्न सुझाव दिईएको छ ।

गणेशकालिका प्रावी धुलिखेल १२ मा १४ विद्यार्थीका लागि ४ शिक्षक रहेका छन् । चक्रदेवी प्राविमा १६ विद्यार्थीका लागि ४ शिक्षक, छयालदेवी प्राविमा ८ जना विद्यार्थीका लागि २ शिक्षक, हरिसिद्धी निमाविमा ३४ विद्यार्थीका लागि ८ शिक्षक, सेतिदेवी प्राविमा १७ विद्यार्थी ४ शिक्षक, श्रीखण्डपुर प्राविमा ३१ विद्यार्थी ६ शिक्षक, धनकाली प्राविमा २३ विद्यार्थी ४ शिक्षक, पुर्णसञ्जिवनी लंखनामाई माविमा ५९ विद्यार्थी १० शिक्ष्ँक, सरस्वती माविमा ५५ विद्यार्थी ९ शिक्षक, कालिदेवी माविमा ४० विद्यार्थी ६ शिक्षक, बालचेतना प्रावि २० विद्यार्थी ३ शिक्षक, बालमन्दिर निमावीमा ५४ विद्यार्थी ८ शिक्षक, करथरी माविमा ३४ विद्यार्थी ५ शिक्षक, हनुमान माविमा ३६ विद्यार्थी ५ शिक्षक, पञ्चकन्या निमावीमा ६० विद्यार्थी ८ शिक्षक, नवज्योति प्राविमा २३ विद्यार्थी ३ शिक्षक, कालिदेवी प्रावि १७ विद्यार्थी २ शिक्षक र दारिमबोट प्राविमा १७ विद्यार्थी २ शिक्षक रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । उत्त विद्यालयमहरुमा अन्य तहबाट ब्यवस्थापन गरिएका शिक्षकहरु पनि कार्यरत छन् ।

तथ्याङ्क अनुसार ८ वटा विद्यालयमा शिक्षक दरवन्दी थप गर्नु पर्ने छ । देविस्थान मावि देविटारमा प्रति विद्यार्थी ३३.३३ बराबर एक शिक्षक रहेका छन् । सञ्जिवनी मावि धुलिखेलमा २५ विद्यार्थी बराबर एक शिक्षक रहेका छन् । करथरी माविमा ११.२० बराबर एक शिक्षक छन् । महांकाल माविमा २६.६६ बराबर एक शिक्षक रहेका छन् ।

बालज्योति निमावी, बछलादेवी निमावी, शान्तिपुर प्रावि, डाँफे प्राविमा शिक्षक दरवन्दी अपुग छ । डाँफे प्राविमा २५ विद्यार्थीका लागि १ शिक्षक कार्यरत छन् । कक्षा १ देखि ३ सम्म रहेको उक्त विद्यालयमा विद्यार्थीसँख्या धेरै भए पनि शिक्षक छैनन । विद्यालय मर्ज वा तह घटुवा गर्ने आधारहरु नगरपालिले तय गरिसकेको छ । दरबन्दी कटौती वा मिलान गर्दा शिक्षक ब्यवस्थापन गर्ने आधारहरु समेत तयार गरी सरोकारवालाहरुसँग छलफल गरिएको छ ।