सरकारविरुद्ध हेटौंडामा उत्रियो तरुण दल

0
Shares

हेटौंडा ।
वर्तमान सरकार अधिनायकतर्फ अघि बढेको भन्दै त्यसको विरोधमा नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले बिहीबार प्रदेश–३ को राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।

बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी निर्मला पन्तलाई न्याय, अनसनरत् डा. गोबिन्द केसीका मागहरु पूरा गर्न, भ्रष्टाचार रोक्नुपर्ने माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरिएको हो ।

सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको घोषित कार्यक्रमअनुसार प्रदेश–३ को राजधानीमा प्रदर्शन तथा विरोधसभा गरिएको हो । हेटौंडा–२ मा रहेको जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध ¥याली संगमचोक, कान्तिराजपथ, स्कुलरोड, सीमाचोक, टीसीएनरोड हुँदै बसपार्कबाट राप्तिरोडको बाटो भएर बुद्धचोकमा विरोधसभामा परिणत भएको थियो ।

सभामा तरुण दल केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले कम्युनिष्ट सरकारले लोकतन्त्र र प्रजातन्त्र मास्न लागेको भन्दै सरकारविरुद्ध अन्तिम लडाईं लड्ने बेला आएको बताउनुभयो । संविधान कुल्चिएर निर्णयहरु गरिएको भन्दै अध्यक्ष बस्नेतले सरकारले देशमा अस्थिरता निम्त्याएको आरोप लगाउनुभयो ।

वर्तमान सरकार भ्रष्टाचार र अनियमितताको चरम विन्दुमा पुगेको उहाँको आरोप थियो । सरकारले नै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले समृद्धि र विकासको नारा अघि सारेर मुलुकलाई उल्टो दिशातिर लगिरहेको उहाँले दाबी गर्नुभयो ।
तरुण दल अध्यक्ष बस्नेतले हराएको भनिएको ३३ किलो सुन खोज्न प्रम केपी ओली र प्रचण्डको घरमा जानुपर्ने टिप्पणी गर्नुभयो । ‘३३ किलो सुनकाण्ड देखाउँदै सरकार ३८ क्वीन्टल सुन लुकाउन खोजिरहेको छ,’ उहाँले भन्नुभयो–सुन खोज्न अरु ठाउँ हैन, केपी ओली र प्रचण्डको घर जानुपर्छ । त्यही फेला पर्छ सुन ।

सरकार दिनप्रतिदिन निरंकुश बन्दै गएको भन्दै बस्नेतले प्रहरी प्रशासनलाई तरुण युवामाथि ज्यादति नगर्न चेतावनी दिनुभयो । ‘अनेक बहाना बनाएर तरुण युवालाई दुःख दिने काम बन्द गर्नस् । हैन भने भोलिका दिनमा हामी हिसाब गर्ने छौं,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
तरुण दल उपाध्यक्ष उत्तम चापागाईंले सरकारले दुई तिहाईको दम्भ गरेको भन्दै तरुण दलले आन्दोलनमार्फत सरकारको घमण्ड अन्त्य गर्ने बताउनुभयो । उपाध्यक्ष चापागाईंले सरकार आफैं भ्रष्टाचारमा लिप्त भएको र निर्मला हत्याकाण्डका अपराधीलाई संरक्षण दिएको आरोप लगाउनुभयो ।

महासचिव भुपेन्द्रजंग शाहीले संसद्मा कांग्रेस सांसद्लाई बोल्न नदिएर सभामुख कृष्णबहादुर महराले गुरिल्ला शैली प्रस्तुत गरेको आरोप लगाउनुभयो । कोषाध्यक्ष विद्वान गुरुङले महंगा गाडी र हेलिकोप्टर चढेर देशमा समृद्धि नआउने भन्दै सरकारको योजना हावामा उडिरहेको तर्क गर्नुभयो । कोषाध्यक्ष गुरुङले सरकार नसच्चिए देशभरबाट तरुण कार्यकर्ता बोलाएर सिंहदरबार घेर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो–सरकारले आफ्नो रवैया सच्याओस्, होइन भने देशभरका तरुण काठमाडौंमा सिंहदरबार घेर्न जानेछन् ।

नयाँ युगको सुरुवातसँगै ओली सरकार चमत्कारी बन्दै गएको टिप्पणी गर्दै कोषाध्यक्ष गुरुङले व्यङ्ग्य गर्नुभयो–समातिएको सुन तामा हुन थाल्यो । हावामै पानीजहाज र हावामै रेल पनि चाँडै आउने छ ।

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लोकतन्त्रको अनुशासन र विधिको शासनलाई कम्युनिष्ट सरकारले तोडेको आरोप लगाउनुभयो । उहाँले कम्युनिष्टसँग सँस्कार र सँस्कृतिको राजनीति नदेखिएको भन्दै यसले देशमा समृद्धि आउन नसक्ने दाबी गर्नुभयो । तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकको सभाध्यक्षतामा विरोधसभा भएको थियो ।