होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित

0
Shares

गंगा बराल, काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ शुक्रबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

उक्त विधेयक पारित गर्न सरकारले सदनमा ठूलै कसरत गर्नुपरेको थियो। केही दिनदेखि नेपाली कांग्रेसले डा। गोविन्द केसीसँग भएको सहमतिअनुसार विधेयक ल्याउनुपर्ने भन्दै संसद्मा अवरोध पु¥याउँदै आएको थियो। जसरी भए पनि उक्त विधेयक पारित गर्ने मनस्थितिमा रहेको सरकारले कांग्रेसको पूर्वतयारीलाई विफल बनाउँदै उक्त विधेयक संसद्बाट पारित गरेर छाडेको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक शुरू हुनासाथ ‘रोस्ट्रम’ घेरेर नाराबाजी गरे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले रोस्ट्रममै गएर विधेयक प्रस्तुत गर्नुभएको थियो।
शुक्रबारको बैठकमा कांग्रेसले अवरोध गरे मन्त्री बसेकै ठाउँबाट भए पनि विधेयक प्रस्तुत गर्ने मनस्थिति सरकारले बनाएको थियो। नाराबाजी गरिरहेका कांग्रेका सांसद नजिकैबाट रोस्ट्रममा पुगेका मन्त्री पोखरेलले नाराबाजी र होहल्लाबीच विधेयक प्रस्तुत गर्नुभएको थियो।

विधेयक प्रस्तुत भएपछि सभामुख कृष्णबहादुर महराले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष राखेपछि कांग्रेसका सांसदहरू कुर्चीबाट उठेर होहल्ला गरिरहेका थिए भने सत्ता पक्षका सांसदहरू भने कुर्चीमा बसेर लगातार विधेयकको पक्षमा ताली बजाएपछि सभामुख महराले विधेयक बहुमतले पारित भएको जानकारी सदनलाई गराउनुभएको थियो।

प्रायजसो विधेयकमा विरोध गर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल बैठकमा उपस्थित भए पनि चिकित्सा विधेयकका बारेमा भने मौन बस्नुभएको थियो। विधेयक प्रस्तुत गरेपछि मन्त्री पोखरेल रोस्ट्रमको छेउमै उभिनुभएको थियो। मंगलबारको बैठकमा कांग्रेसका सांसदहरूले अवरोधपछि मन्त्री पोखरेल रोस्ट्रममा जान पाउनुभएको थिएन।

सभामुख महराले कांग्रेसले उठाएका विषयलाई सरकारले स्विकारिसकेको भन्दै कांग्रेसका सांसदहरूलाई बैठक चलाउन पटक–पटक सहयोगका लागि आग्रह गर्नुभए पनि उनीहरूले सभामुखको आग्रहलाई इन्कार गरेका थिए। मन्त्री रोस्ट्रममा पुग्नासाथ हात हल्लाएपछि सत्तापक्षका सांसदहरू हौसिएका थिए। मन्त्रीले चर्को स्वरमा विधेयक प्रस्तुत गर्नुभएको थियो। बैठकमा अघिपछि भन्दा शुक्रबार मर्यादापालकको संख्या उल्लेख्य मात्रामा बढाइएको थियो।

विधेयक पारित गर्ने प्रक्रिया चलाइरहँदा सभामुख महरा निकै हतास र आत्तिएको मुद्रामा देखिनुभएको थियो। विधेयक पारित गराउनुपर्ने बाध्यतामा रहनुभएका सभामुख महरालाई कांग्रेसले अवरोध सिर्जना गरिरहँदा सभामुखलाई के गर्ने भन्ने संकट परेको थियो।

कांग्रेसले सभामुखको व्यवहार संसद्को अभिभावकजस्तो हुनुपर्नेमा पार्टीकै नेताजस्तो भएको भन्दै आलोचना गरेको छ। सोमबार कांग्रेसका विजयकुमार गच्छदारले र मंगलबार प्रकाशमान सिंहले संसदमा पार्टीको आधिकारिक धारणा राख्नुभएको थियो। त्यसपछि बैठक अवरोध हुँदै आएको थियो।
शुक्रबार १ घण्टा ढिलो गरी बैठक शुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू कुर्सीबाट उठेका थिए। सभामुख महराले कांग्रेस सचेतक पुष्पा भुसाललाई बोल्न समय दिनुभएको थियो। भुसालले पुरानै मुद्दा उठाउँदै बैठक बहिष्कार गर्ने जनाउ दिनुभएको थियो।

सरकारले तनहुँमा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा स्थापना गरिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माण प्रक्रिया रोकिएको भन्दै उहाँले आपत्ति जनाउनुभएको थियो। शुक्रबारको बैठकको एजेन्डा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई पारित गर्ने मात्र थियो।

कांग्रेसले विधेयकमा संशोधन गर्नुपर्ने माग गर्दै आएको छ। यसअघि आफ्नो नेतृत्वको सरकारले ल्याएको अध्यादेशमाथि तोडमोड गरेको आरोप कांग्रेसले लगाएको छ। शुक्रबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका प्रमुख नेताको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता देउवाले सरकारको विरोधमा सडक र सदनबाट आन्दोलन शुरु गर्ने चेतावनी दिनुभएको छ। संसद्को बहुमतले राष्ट्रिय शिक्षा विधेयक पारित गरिसकेपछि पत्रकारहरू कुरा गर्दै देउवाले सरकारको व्यवहार गलत भएकाले खतराको अवस्था आएको प्रतिक्रिया दिनुभयो। पूर्वस्वास्थ्यमन्त्री तथा कांग्रेस सांसद् गगनकुमार थापाले सरकार सँगसँगै सभामुखविरुद्ध पनि संघर्ष गर्ने चेतावनी दिनुभयो।

थापाले सभामुख महराले जालझेलपूर्ण व्यवहार गरेको टिप्पणी गर्नुभयो। ‘बैठकमा मुठभेड निम्तिने गरी बैठक चलाउँदिन भन्ने अनि हामीलाई पेलेर, विपक्षीको कुरा नसुनी संसद् बैठक चलाउनु खेदजनक छ’ थापाले भन्नुभयो– ‘कांग्रेसलाई जिस्क्याइएको छ, अब यसको मूल्य निकै महंगो पर्छ।’ प्रतिनिधिसभाको अर्को बैठक आउँदो बिहीबार १ बजे बस्ने भएको छ।’