बर्षौ बित्दापनि बनेन् मोटर चल्ने पुल

0
Shares

विमल बिष्ट, डोटी ।
निर्माण कार्य सुरु गरेको बर्षौ बितिसक्दा समेत डोटीका मोटर चल्ने पुलहरु अझै निर्माण हुन सकेका छैनन् । ठेकेदार कम्पनीहरुको लापर्वाहिका कारण ति पुलहरु अझै निर्माण सम्पन्न हुन नसकेको स्थानियको आरोप छ ।

ठेकेदार कम्पनीहरुले बिभिन्न बाहना देखाई पुल निर्माणको कार्यमा ढिलाई गर्ने गरेको डिभीजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ०७१ साल असार २९ गते सम्झौता भएको डोटीको शिखर नगरपालिकामा रहेको सातनाली सडक पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको छ । पहिलो पटक भएको तीन वर्षे सम्झौताको ०७४ साल असार २९ गते सम्पन्न भएपछि न त अर्को सम्झौता भएको छ, न सम्बन्धित निकायले सम्झौता रद्द गरेको छ ।

मूल्य अभिबृद्धि कर (भ्याट) सहित २६ करोड २० लाखको लागतमा निर्माण हुने करिब चार सय मिटर लम्वाइको उक्त आरसिसी पुल डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प/राजेन्द्र जेभी निर्माण कम्पनीसंग सम्झौता गरी निर्माण कार्य सुरु गराएको थियो । पुल निर्माण हुने समयावधी समाप्त भएर पनि एक वर्ष बितिसक्दा समेत पुलका दायाँ र बाँया पिल्लर समेत बनेका छैनन् ।

पुल निर्माणको कार्य सुरु भएपछि आफुहरु पनि सडक सञ्जालमा जोडिने आश लिएर बसेका स्थानीयहरु फेरी निराश हुन थालेका छन् । सेती नदीमा निर्माण हुने उक्त पुल अझै निर्माण हुन नसक्दा शिखर नगरपालिकाको वडा नं. ११ सडक सञ्जालमा जोडिन सकेको छैन् । पुल निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरवाही भएको पुलको साइड हेर्ने डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका इन्जिनियर बसन्तकुमार गायी बताउँनुहुन्छ ।
‘पिल्लरको फाउण्डेसनमा रक भेटियो, डिएमसी मेसिनले काम गरेन’ इन्जिनियर गायी भन्नु हुन्छ, ‘अर्को मेसिन ल्याउनु पर्ने हो तर अहिले सम्म आईपुेको छैन ।’ उहाँले करीव १० प्रतिशत मात्रै काम भएको स्वीकार गर्नु भयो ।

पुल निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साँउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका नगर प्रमुख हुनु भएको छ । यस्तै दुई वर्षमा बनेर सञ्चालनमा आउनु पर्ने डोटीकै अर्को सडक पुल ६ वर्ष बितिसक्दा समेत सञ्चालनमा आएको छैन् । जोरायल गाउँपालिकाको कुम्रेली गाड (नदी) मा निर्माणाधीन पुल दुई वर्षमा सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय कुल्पाते दिपायल र एस.बि.ए.÷चन्द्र एण्ड बसन्त र आई.एस.जे.भि. निर्माण कम्पनीहरुले २०६८ साल असार २३ गते पहिलो सम्झौता गरी काम सुरु भएको थियो ।

कुल लागत २ करोड ५८ लाख ७२ हजार ९ सय १७ मा निर्माण भइरहेको उक्त पुल निर्माणको समय २०७० साउन ४ गतेसम्म मात्र रहेको थियो । ५० मिटर लम्बाइ रहेको उक्त पुल निर्माण सम्झौता तेस्रो पटकसम्म थप भइसक्दा समेत अझै निर्माण कार्य पुरा हुन सकेको छैन् ।

‘ठेकेदारको लापर्वाहीका कारण योजना समयमा सम्पन्न हुन नसकेको हो’ उक्त योजनाको साइड हेर्ने सडक डिभिजन कार्यालय कुल्पाते दिपायलका इन्जिनियर महानन्द जोशीले भन्नु भयो ‘सम्झौता भएको समयमा निर्माण कार्य सम्पन्न नभएका कारण १० प्रतिशत हर्जना लिन्छौं ।’ निर्माण कम्पनीले योजना सम्पन्न पनि गर्नु पर्ने र ढिलो भएमा हर्जना पनि तिर्नु पर्ने बताउँदै जोशीले थप भन्नु भयो, ‘यदी पुल सम्पन्न नगरेरै छोड्छन् भने कम्पनीलाई कालो सूचीमा राख्छौं, अब हामी कार्वाहीको प्रक्रियामा छौं, तीन वटै निर्माण कम्पनीहरुलाई कारवाही हुन्छ ।’

तेस्रो पटक २०७२ माघ २९ गतेदेखि २०७३ भदौ १४ गतेसम्मको लागि पुल निर्माणको सम्झौताको म्याद थप गरिएको थियो । निर्माण कार्य अझै बाँकी रहेको भएपनि २०७३ भदौ १४ गतेदेखि भने हालसम्म सम्झौताको म्याद थप नगरिएको सडक डिभीजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ । पुल निर्माण नहुँदा स्थानिय तथा बिद्यार्थीहरुले नदी तर्न नसक्दा पुलमा भ¥याङ लगायर नदी वार पार गर्न बाध्य भएका छन् ।

समयमा पुल बनेन् नदीमा पानीको बहाब बढेका बेला हामी पुलमा लगाएको भ¥याङको सहायताले नदी तर्न बाध्यछौ,स्थानियबासी तथा शिक्षक बिजयप्रकाश मल्लले भन्नुभयो,‘ठेकेदारले पुल बनाईदिएन,नदीमा ठुलोबाढी आएको बेला त बग्ने डरले स–साना बालबालिका स्कुलनै आउदैनन्,बालबालिका स्कुल नआउदा साना कक्षाहरु त बन्द गर्नु पर्ने हुन्छ ।’