‘भावनात्मक एकता नहुँदा पार्टी फुट्यो’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पार्टी एकता भएको डेढ वर्ष सम्म पनि भावनात्मक एकता नहुँदा पार्टी विभाजन भएकोे विवेकशिल साझा पार्टीको ठहर छ । दुई पार्टी वीचको विचार, दृष्टिकोण र कार्यदिशामा एक मत नहुँदा फुटको सामना गर्नुपरेको साझा पार्टीको निष्कर्ष छ ।

पार्टी विभाजनपछि सोमबार र मंगलबार बसेको विवेकशिल साझा पार्टीको दुई दिने केन्द्रिय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘जसरी विवेकशील नेपाली दलका १६ जना अलग भएर जानुभयो, यसले एउटा समूह भावनात्मक रुपमा नजोडिएको र उहाँहरुको अलग दृष्टिकोण थियो भन्ने प्रष्ट भएको छ’–बैठकबारे जानकारी दिदै सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले भन्नुभयो ।

उज्जल थापा समुहले हतार र अप्रत्याशित छापामार शैलीमा पार्टी फुटाएर सो समुहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको उहाँले बताउनुभयो ।

विवेकशील साझा र पुनगठित विवेकशील नेपाली दल वैकल्पिक पार्टी निर्माणमा सामेल भएकाले विभाजनको आरोप–प्रत्यारोपमा अलमलिन नहुने आचार्यको भनाइ थियो । डा.गोविन्द केसीले उठाएका मुद्धा आम नेपालीको हितमा रहेकाले केसीको मुद्धा आफ्नो पार्टीको समर्थन रहेको उहाँले बताउनुभयो ।

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीसँग एकता प्रकृया अघि बढ्न सक्ने÷नसक्नेबारे सोधिएको प्रश्नमा सो निर्णय अहिले नै भइनसकेको सो पार्टीले प्रष्ट्याएको छ । तर वैकल्पिक राजनीतिक अभ्यास गर्ने जो कसैसँग एकताका लागि ढोका खुल्ला रहने पार्टी संगठनलाई निरन्तरता दिइने पार्टीकी नेतृ एवं ३ नं प्रदेश सांसद शोभा शाक्यले बताउनुभयो । ३ जना प्रदेश सांसद रहेको विवेकशिल साझामा अब शाक्य मात्रै सांसद रहनु भएको छ ।

पार्टी विभाजनपछि रमेश पौडेल र विराजभक्त श्रेष्ठ नवगठित विवेकशील नेपाली दलमा सामेल भएपछि शाक्य मात्रै एक्ली सांसद रहनु भएको हो । विवेकशील दलले पार्टी विभाजन अघिका ३७ सदस्यीय केन्द्रीय सदस्य मध्ये १६ जना अलग भएर आफ्नो समुहमा आवद्ध भएका दावी गरेको छ । यसै वीच दुई दिने बैठकले पार्टी फुटको समीक्षात्मक प्रतिवेदन तयार गर्न पार्टी संयोजक रविन्द्र मिश्रलाई जिम्मेवारी दिएको छ ।

सो पार्टीले माघ १२ गते देशभरका प्रतिनिधिको राष्ट्रिय भेला बोलाइएको छ भने त्यस लगत्तै माघ तेस्रो साताबाट विशेष मधेस मिसन सञ्चालन गर्ने भएको छ । पार्टीको महाधिवेशन आगामी वर्ष २०७६ फागुन १५–१९ मा महाधिवेशन गर्ने निर्णय गरेको छ ।