बम्जनविरुद्ध अहिलेसम्म कुनै उजुरी परेको छैनः संघ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
पछिल्लो पटक विवादमा तानिएका तपस्वी राम बहादुर बम्जन विरुद्ध कसैले उजुरी नदिएको स्पष्ट पारेको छ । बोधि श्रवण धर्म संघले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका प्रवक्ता तथा पूर्व मन्त्री मणि लामाले स्पष्ट पारेका हुन् ।

तपस्वी बम्जन विरुद्ध पछिल्लो पटक बलात्कार, हत्या जस्ता गम्भिर प्रकृतिका आरोप लागेको छ । संघका प्रवक्ता लामाले बलात्कार, हत्या र बेपत्ता पारिएका भनिएकाहरुका आफन्तले तपस्बीबाट हत्या भएको, बेपत्ता पारिएको जस्तो उजुरी नदिएको भन्दै तपस्बी बोम्जन निर्दोष रहेको दाबी गर्नुभयो ।

‘उहाँको विरुद्ध अहिलेसम्म कानुनी रुपमा कहिँ कतै कसैबाट पनि उजुरी परेको छैन । कोही भ्रममा पर्नु पर्दैन । गुरु निर्दाेष हुनुहुन्छ ।’, उहाँले भन्नुभयो ।

विभिन्न जिल्लामा फैलिएको आश्राममा धेरै भक्तजन आईरहने हुनाले कोही कसैको रेकर्ड राख्ने चलन संघमा नरहेको भन्दै हराईरहेका भनिएकाहरुको पनि संघमा कुनै रेकर्ड नभएको उहाँले बताउनुभयो ।

मान्छे हराईरहेको, हत्याको आशंकामा राज्यले अनुसन्धान गरिरहेकोले यसमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गर्दै उहाँले भन्नुभयो–‘विभिन्न जिल्लामा आफ्नो परिवारको सदस्य आश्रमबाट हराईरहेको भनिएको छ । हत्या र बेपत्ताको शंका हुनु स्वभाविक पनि हो । गुरुप्रति अम्भिर आरोप पनि लागेको छ । सरकारले चाँडै सत्य तथ्य बाहिर ल्याईयोस् ।’

यसमा राज्यले गरिरहेको अनुसन्धानमा संघले निष्पक्ष र न्यायिक छानविन होस भनेर सहयोग गरिरहेको संघका प्रवक्ता लामाले बताउनुभयो ।
विभिन्न जिल्लामा परेको उजुरीकै आधारमा पछिल्लो पटक प्रहरीले अनुसन्धान समेत थालेको छ । गुरुप्रति आरोप लागेपनि धर्म आफ्नो ढंगले अगाडि बढ्ने संघले जनाएको छ ।

संघले यस्तै आरोप प्रत्यारोपका बिचपनि सिन्धुलीमा रहेको आश्रममा माघ ३ देखि ६ गतेसम्म विश्व शान्ति पुजाको आयोजना गर्दैछ । जहाँ पितृ मोक्ष र विश्व शान्तिका लागि पुजा हुने संघले जनाएको छ ।