वाइड बडी जहाज खरीदमा आफूले कुनै निर्णय नगरेको सभापति देउवाको स्पष्टिकरण

0
Shares

धनगढी ।
पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले वाइड बडी जहाज खरीद गर्ने निर्णय नगरेको बताउनुभएको छ ।

देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामानै उपसमिति गठन गरेर वाइड बडी जहाज खरीद प्रक्रिया शुरु गरिएकोमा पुष्पकमल दहाल नेतृत्वको सरकारले जहाज खरीदका लागि जमानत बसेर बोलपत्र आह्वान गरेको जिकिर गर्नुभयो । ‘आफ्नो नाम जोडेर भ्रम फैलाइएकामा दुःख व्यक्त गर्दै देउवाले भन्नुभयो, “विमान खरीदमा अनियमित गर्ने दोषीमाथि कारवाही गर्नुपर्छ ।”

नेता देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधिमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले भन्नुभयो, “कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको छ, दोषीलाई कारवाही गर्न मिडियाले दबाब दिनुपर्छ ।”

चिकित्सा शिक्षालाई स्तरीय र युग सुहाउँदो बनाउन प्रा डा गोविन्द केसीसँग वार्ता गरेर आफ्नो नेतृत्वको सरकारले विगतमा ऐन ल्याएको देउवाले बताउनुभयो । उहाँले अहिलेको सरकारले उक्त ऐन अध्यादेशमार्फत संशोधन गर्न खोजेको प्रति विरोध जनाउनुभयो ।
रासस