डायरी निकालेरै बित्छ अनुसन्धान महाशाखाको दिन

0
Shares

गंगा बराल, काठमाडौं
संघीय संसद् सचिवालयमा रहेको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाका महत्वपूर्ण दिनहरू सांसदको टेलिफोन डायरी मात्रै निकालेर बित्ने गरेका छन् ।

संसदीय गतिविधि, अन्तर्राष्ट्रिय अभ्यास र कानुनबारे अध्ययन गर्ने उद्देश्यले स्थापित उक्त महाशाखा के गर्ने भन्नेमा आफैँ अलमलमा परेको छ ।
अध्ययन अनुसन्धान महाशाखा भनिए पनि अहिलेसम्म कुनै अध्ययन र अनुसन्धान गरेको पाइएको छैन । तर कहिलेकाहीँ संसद्मा महिला सहभागितालगायतका पुस्तक निकालेको सम्बद्ध व्यक्तिहरू बताउँछन् ।

महाशाखाका सहसचिव घनिन्द्रराज चिमौरियाले प्रशस्त बजेट नहुँदा कामै गर्न नसकिएको बताउनुभयो । संसद् सचिवालयले संसदीय संग्रहालय बनाउने योजना गरेको भए पनि अहिलेसम्म कहाँ र कस्तो बनाउने भन्ने टुंगो लागेको छैन ।

‘संसदीय गतिविधिको इतिहास र वर्तमान अवस्था झल्कने तस्बिर र अन्य वस्तुहरु देखाउने लक्ष्य हो’, सहसचिव चिमौरियाले भन्नुभयो–‘कुनै नयाँ भवन खोज्ने कि केही कोठालाई मिलाएर संग्रहालय बनाउने भन्ने विषय अन्योल छ ।’
सचिवालयले गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेले महाशाखाको आवश्यकता रहेको महसुस गरेपनि सञ्चालनमा समस्या देखिएको छ । ‘धेरै काम गर्नुपर्ने जिम्मेवारी छ तर समस्या त्यही पैसाको छ’,सहसचिव चिमौरियाले भन्नुभयो– ‘गर्ने मन छ, गर्नुपर्ने बाध्यता छ तर समस्या बजेटकै छ, अर्को साल बजेट बढी मागेका छौं ।’

उहाँले विज्ञ बोलाएर सांसदसँग अन्तरक्रिया र प्रशिक्षणका कामहरु गर्न सकेको खण्डमा महाशाखाको नामको औचित्य हुने बताउनुभयो ।महाशाखाअन्तर्गत संसदीय अध्ययन तथा अनुसन्धान, प्रत्यायोजित व्यवस्थापन अध्ययन, पुस्तकालय र नागरिक सम्बन्ध गरी ४ वटा शाखा रहेका छन् ।

प्रत्यायोजित व्यवस्थापन अध्ययन र नागरिक सम्बन्ध शाखा यो संसद् बन्नुभन्दा अघि गठन भएको थिएन ।संसदीय अध्ययन तथा अनुसन्धान शाखा अर्कै नाममा रहेर यस्तै काम गर्दै थियो । चालू आर्थिक वर्षमा छुट्याइएको ११ लाख रुपियाँमध्ये अध्ययन तथा अनुसन्धान शाखालाई ५ लाख र प्रत्यायोजितलाई ६ लाख रुपियाँ छुट्याइएको छ ।

अध्ययन तथा अनुसन्धान शाखाले सांसदको टेलिफोन डायरी, संसद्मा महिला सहभागितालगायतका पुस्तक प्रकाशन गरेको छ । सचिवालयको प्रेसमा नै छापिने भएकाले शाखाको कुनै खर्च लाग्दैन । यो शाखाले राष्ट्रियसभा परिचय र संघीय संसद् परिचय पुस्तिका प्रकाशनको तयारी गरेको छ । पुस्तकालय सांसदको लागिमात्र प्रयोगमा आउँछ तर सांसदको उपस्थितिमा कमी हुने गरेको छ । सांसदले मागेको खण्डमा पुस्तकालयले संसदीय गतिविधिसम्बन्धी पुस्तक किनेर अध्ययनका लागि उपलब्ध गराउँदै आएको छ ।

नागरिक सम्बन्ध शाखाले सांसद र नागरिकबीचको सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको भए पनि बजेट नभएकाले यो शाखा चुपचापजस्तै छ ।

‘सांसद र नागरिकबीच छलफल गराउने र एकआपसमा गुनासा, समस्या र सम्भावना साट्ने काम हुनुपर्दथ्यो भएन’, सहसचिव चिमौरियाले भन्नुभयो– ‘महाशाखामा पनि एउटा मात्र कोठा छ, सहयोगी छन् उनी पनि बाहिर अरू नै शाखामा बस्छन् ।’ उहाँले सबैजसो शाखामा कर्मचारी र कार्यालयको अभाव भएको बताउनुभयो ।

संगठन तथा व्यवस्थापनसर्वेगर्दा केही व्यक्तिलाई जागिर खुवाउनका लागि अनावश्यक रुपमा धेरैवटा शाखा स्थापना गरिएको आरोप लागेको छ । संसद् सचिवालयमा ४ सय ३५ कर्मचारी दरबन्दी रहेको छ ।