नेपाल समाचारपत्र, काठमाडौं ।
जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई ८७ लाख नेपाली रुपैयाँ बराबरको क्यान्सर निदान सम्वन्धि अत्याधुनिक मेडिकल उपकरण प्रदान गरेको छ ।
अस्पतालमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूतकी धर्मपत्नि एरिको साइगोले ती सामाग्रीको विवरण सहितको सम्झौतापत्र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
बिहीबार नेपाल क्यान्सर अस्पताललाई हस्तान्तरण गरिएका अत्याधुनिक मेडिकल उपकरणहरुमा अल्ट्रासाउण्डसहितको पोर्टेबल इको कार्डियोग्राम (इसिजि) मेशीन, सानो आन्द्राको क्यान्सर पत्ता लगाउने इआरसिपि मेशीन र फोक्सोको क्यान्सर पत्ता लगाउने ब्रोन्कोस्कोपी मेशीन रहेका छन् ।
नेपाल क्यान्सर अस्पतालले वर्षेनी ५ हजारभन्दा बढी क्यान्सरका विरामीको रोग निदान गरि उपचार गर्नुको साथै विभिन्न समयमा विभिन्न ठाउँमा गएर क्यान्सर पहिचान शिविर समेतको आयोजना गर्दै आएको कुरालाई मध्यनजर गर्दै जापान सरकारले अस्पताललाई ती उपकरण प्रदान गरेको जापानी राजदूतावासद्धारा बिहीबार जारी विज्ञप्तीमा जनाइएको छ ।
जापान सरकारले गत महिनानै ती मेडिकल उपकरण प्रदान गरेको र ती उपकरण जडान गरि त्यसबाट सेवासमेत शुरु गरिसकेको उल्लेख गर्दै अस्पतालका कार्यकारी अध्यक्ष डा. श्रेष्ठले औपचारिक हस्तान्तरण कार्यक्रम मात्रै विहीबार आयोजना गरिएको बताउनुभयो ।
जापान सरकारबाट प्राप्त मेडिकल उपकरणबाट क्यान्सरका विरामीले सुलभ क्यान्सर पहिचान (निदान) सेवा पाउने पनि कार्यकारी अध्यक्ष डा.श्रेष्ठले बताउनुहुन्छ ।











प्रतिक्रिया