सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम समापन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिबार सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभयो ।

त्यअवसरमा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक मदन अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशललाई कार्यक्षेत्रमा गएपछि ईमान्दारिताकासाथ लागूगरि उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिनुभयो ।

उहाँले संगठन आजको यस स्थानसम्म आईपुग्नुमा अग्रजको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध रहनु सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको प्रमुख दायित्व र जिम्मेवारी भएको बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राज्य प्रदत्त जिम्मेवारीहरु पुरा गर्न सामुहिक भावनाकासाथ जिम्मेवारी निर्वाहमा तल्लिन रहन निर्देशन दिनुभयो ।

उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्र र नागरिकले सोचेको र खोजेको जस्तो सुरक्षा सेवा प्रवाहमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै आफुले सिकेको ज्ञान र सिप आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउदै कार्यक्षेत्रमा पूर्ण व्यावसायिकताकासाथ नतिजामुखी कार्यसम्पादन गर्न कृयाशिल रहनुपर्ने बताउनुभयो ।

कार्यक्रमा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा गएपछि तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई उपयोग गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सिमित स्रोतसाधनका बावजुद तालिमलाई समयानुकुल र बैज्ञानीक ढंगले संचालन गरिएको उल्लेख गर्नुहँुदै विविध विषयका विज्ञ प्रशिक्षकहरुद्वारा समेत प्रशिक्षण प्रदान गरिएको बताउनुभयो ।

पाँच महिना अवधिको उक्त तालिममा ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, खबर संकलन, हुल तथा दंगा व्यवस्थापन, विपद व्यवस्थापन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, सुरक्षा योजना तथा कारवाही, हतियार ह्याण्डलिङ लगायतका विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।