मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको लालझाँडी गाउँपालिकाकै पहिलो कालोपत्रे सडकमा खबरदारी गर्दा गर्दै मापदण्ड विपरीत काम भएको स्थानीयले आरोप लगाएका छन् । लालझाँडी गाउँपालिका वडा नम्बर २ कन्जमा गाउँपालिकामै पहिलो पटक कालोपत्रे गरिएको सडक एक महिना नपुग्दै फुट्न थालेपछि स्थानीयले निर्माण व्यवसायीले मापदण्ड विपरित काम गरेको आरोप लगाएका हुन् ।
लालझाडी गाउँपालिका नै पक्की सडक विहिन रहेको अवस्थामा १६ लाखमा ठेक्का सम्झौता गरी कालोपत्रे गरिएको वडा नम्बर २ को कन्जको तीन सय २६ मिटर सडकमा निर्माण व्यवसायीले कमसल काम गरेको आरोप स्थानीयले लगाएका हुन् । करिब एक महिना पहिले मात्र कालोपत्रे गरिएको सडक भत्किन थालेको हो, भने कालोपत्रे पनि बजेट जोगाउनका लागि निकै पातलो गरिएको छ ।
स्थानीय मदन रानाले सडक कालोपत्रे गर्ने बेला देखी नै मापदण्ड विपरीत काम भएको भन्दै खबरदारी गर्दा गर्दै पनि निर्माण व्यवसायीले कमसल काम गरेको बताए । गाउँपालिकामै पहिलो पटक कालोपत्रे गरिएको सडक नमुना हुनुपर्ने बेला महिना दिनमै भत्कीने बनेपछि समाजका अगुवा, लालझाँडी गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा आर्थिक चलखेल भएको स्थानीय दिनेश कुमार रानाले बताए ।
“१६ लाखको ठेक्का महिनादिन टिकेन”
विभिन्न स्थानीय तहमा जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको मिलमतोमा आर्थिक अनियमितता गर्दै मापदण्ड विपरीत विकास निर्माणका काम भइरहेको जनगुनासो बढिरहेका बेला लालझाँडी गाउँपालिकामा पनि आर्थिक अनियमितता गर्नका लागि गुणस्तर हिन काम गरेको पाईएको हो ।
तर गाउँपालिकाले भने दाउत निर्माण सेवाले ठेक्का लिएर कालोपत्रे गरिएको सो सडकमा प्राविधिक मूल्याङकन गर्न बाँकी रहेको जनाएको छ । ठेकेदारलाई भुक्तानी पनि नदिइएकाले सडकको गुणस्तरको अवस्था मापन गरेर अगाडी बढ्ने लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जनाए । साईकल चलाउदा समेत कालोपत्रे उप्किरहेको सो सडकमा कमसल काम भएको विषयमा प्रतिक्रिया माग्न खोज्दा दाउत निर्माण सेवाका सञ्चालक दाउत तामाङ भने गाउँपालिका कार्यालयबाटै वेपत्ता भएका थिए ।
सडक पूर्वाधारमा निकै पछाडी रहेको लालझाँडी गाउँपालिकाले पहिलो पटक कालोपत्रे गरेको तीन २६ मिटर सडकमै आर्थिक अनियमितता गरेर जनप्रतिनिधीले नै कमसल काम गरेपछि स्थानीय निराश भएका छन् । अगामी दिनमा कार्यान्वयन हुने सडक योजनामा सशक्त खबरदारी गर्ने पाठ पनि सिकेको स्थानीयले बताए ।











प्रतिक्रिया