सैनिक शासनका लागि भद्रकालीमा पाञ्चायन पूजा

0
Shares

हेटौंडा,(नेस) ।

२०७२ असोज ३ गते जारी संविधान मरिसकेको, संघीयता मुलुकका लागि घातक रहेको गुनासो गर्दै हेटौंडाका एक युवाले बुधबार काठमाडौंको एक मन्दिरमा सैनिक शासन माग्दै पूजा गरेका छन् ।

हेटौंडा–२ का राकेशकुमार शर्माले सैनिक शासनका लागि भद्रकाली मन्दिरमा पाञ्चायन पूजा गरेका हुन् । उनले ‘प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु र नगर प्रमुखलाई करोडौंको गाडी चढ्नलाई मात्र संघीयता हो र ?’ प्रश्न गर्दै २०५२ सालदेखि हालसम्म मुलुक संक्रमणकालबाट गुज्रिरहेकोे गुनासो गरे । ‘पहिले ६ सय १ सभासद्ले राष्ट्रको ढुकुटी रित्याए । अब ८ सय ८४ सांसद्ले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे,’ उनले संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याएको दाबी गरे ।

२०६२÷०६३ पछि प्रधानमन्त्री, मन्त्री, सांसद् र राजनीतिक दलका नेताहरुका कारण राष्ट्रको स्वाधीनता धरापमा परेको बताए र भने–यसकारण सैनिक शासन आवश्यकताका लागि पाञ्चायन पूजा गरेको हुँ । दण्डहीनता अन्त्य, मनपरीतन्त्र र छाडातन्त्र आदि जस्ता विकृतिहरु हटाउन राष्ट्रहित, जनहित र राष्ट्र विकासका लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र, श्री ३ जंगबहादुर राणाजस्ता सैनिकको आवश्यकता रहेकोे उनको भनाइ छ ।

‘प्रधानमन्त्री, मन्त्री, सांसद् र राजनीतिक दलका नेताहरुले निकास नदिएर राष्ट्रलाई अनिर्णयको बन्दी बनाइरहेका छन् । राष्ट्रको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबण्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केही पनि भन्दैनन्, एकमत र एक ढिक्का हुन्छन् ।

राष्ट्रलाई निकास दिनुप¥यो भने सत्तापक्ष र प्रतिपक्ष भन्छन्,’ उनले प्रश्न गरे–सबै अलगअलग कित्ता र फरकफरक मत राख्छन्, किन ? यसकारण दण्डहीनता अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि जस्ता विकृति हटाउन सैनिकको आवश्यकता छ ।