बमजन आश्रमभित्रको काम-धन्दा, स्थानीयवासीलाई नै पत्तो छैन

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
चारैतिर घना जंगल । जंगलकाबीचमा ८ वटा टहरा छन् । टहराक्षेत्रको बाहीरी घेरामा काँडेतारको बार लगाइएको छ, तारबार नाँघेर कोही पनि भित्र प्रवेश गर्न सक्दैनन् ।

रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रममा पुग्दा पहिलोपटक पुग्ने जो कोहीको पनि मनले आत्तेस खान्छ । खोंचमा रहेको आश्रम कहिँकतैबाट देखिँदैन, जंगलबीचको यो खोंचमा हतपत मानिसहरु पुग्दैनन् ।

आश्रम आसपासका मानिसहरु नै यसवारे बेखवर जस्तै छन्, यहाँ हुने क्रियाकलाप र धन्दाबारे बाँडेगाउँवासीलई पत्तो छैन ।

आश्रमबाट १५ मिनेटको उकालो यात्रापछि पुगिने थलडाँडाका स्थानीयलाई पनि आश्रमबारे केहि जानकारी रहेनछ । आश्रममा प्रवेश निषेत्र नै गरिएपछि आश्रमभित्रका कृयाकलापबारे स्थानीयले कुनै चासो नै लिएनन् ।

‘यहाँ के कामधन्दा हुन्छ, हामीलाई पत्तो हुँदैन’, प्रहरीले छापा मारेपछि टोड्केभीरमा रहेको बमजन आश्रममा पुग्दा आश्रम परिसर भन्दा बाहिरैबाट नियालीरहेका स्थानीयवासी भन्दैथिए ।

आश्रमबाट फर्कँदै गर्दा थलडाँडामा कोदो सुकाउँदै गरेकी एक महिलालाई हामीले भेट्यौं । बमजन आश्रमबारे ती महिलासँग कुराकानी गर्न खोज्दा उनी वेखवर देखिईन् । आश्रम खडा गरिएको पाँच वर्ष बितसक्दा थलडाँडा र आसपासका कोही स्थानीय त्यहाँ पुगेका छैनन् ।

अधिकांशलाई त टोड्केभीरमा बमजनको आश्रम छ भन्ने सम्म थाहा छैन । ‘लामाहरु बस्छन् अरे, के हुन्छ र उनी हरु त्यहा बसेर के काम गर्छन भन्ने हामीलाई थाहा छैन’, थलडाँडामा भेटिएकी ति महिलाले भनिन् ।

२०७० साल असोज ४ गते ‘तपस्या’ का लागि भन्दै रामबहादुर बमजन बाँडेगाउँको टोड्केभीरमा आइपुगेका थिए । जंगलबीचको ८० रोपनी जग्गा खरिद गरि लिएर बमजनका अनुयायीहरुले आश्रम बनाएका थिए ।

आश्रम बनेपछि स्थानीयकै नेतृत्वमा आश्रम व्यवस्थापन समिति बन्यो, त्यसको नेतृत्व स्थानीय बिदुर तामाङले लिए । आश्रम व्यवस्थापन समितिका अध्यक्ष उनै बिदुर तामाङ पनि आश्रमभित्रका क्रियाकलाप र गतिविधिबारे अनविज्ञ छन् ।

व्यवस्थापन समितिकै मान्छेलाई भित्रका गतिविधि थाहा नहुने भन्दै कोही स्थानीयलाई यसबारे कुनै जानकारी नभएको उनले सुनाए । ‘गुरुको अनुमति बेगर समितिकै मान्छेलाई पनि भित्र जान रोकतोक थियो, जे कामले भित्र गयो त्यो सकेर निस्किहाल्थ्यौं’, अध्यक्ष तामाङले भने,–‘सर्वसाधारणलाई त भित्र जान निषेध नै छ ।’ कहिलेकाँही गुरुसँग अनुमति लिएर भित्र पुगेपनि असामान्य गतिविधि नदेखेको उनी बताउँछन् ।

बमजन आश्रममा यतिबेला विभिन्न जिल्लाकागरि १४ जना अनुयायीहरु बसिरहेका छन् । आश्रममा बसेकामध्ये सिन्धुपाल्चोकका भने कोहीपनि छैनन् । ०७२ को भूकम्पमा बमजन यहि आश्रममा थिए, भूकम्पको केहि महिनापछि उनी आश्रम छाडेर निस्किएका थिए । भूकम्पपछि यो आश्रम छाडेका उनी हालसम्म फर्कीएका छैनन् ।