आठ बाल विवाह रोकियो

0
Shares

हिक्मत नेपाली, दैलेख ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीमा आठ वटा बाल विवाह रोकिएका छन् । वडा कार्यालय र गैससको सक्रियतामा पछिल्लो एक महिनामा आठ वटा बाल विवाह रोकिएको हो । वडाध्यक्ष राजु कुमार खत्रीका अनुसार यहि पुस महिनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका आठ बाल विवाह रोकिएका हुन् । भोज सहित विवाह गर्न तयार रहेका जोडीको अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफल पश्चात विवाह रोक्ने गरिएको छ ।

गत २ बर्षको अवधीमा बाल विवाह गर्नेको संख्यामा कमी आएको भएपनि पछिल्लो समयमा बाल विवाह गर्नेको संख्या ह्वात्तै बढेपछि वडा कार्यालय र त्यहाँ कार्यरत गैससहरुले सक्रियता देखाएका हुन् ।

वडामा रहेको स्वास्थ्य चौकी र महिला सशक्तिकरण मञ्च दैलेख पनि बाल विवाह रोक्न जुटेको छ । बाल विवाह हुने तयारीबारे जानकारी हुने वित्तिकै केटा र केटीको अभिभावकलाई वडामा बोलाएर बाल विवाहबाट हुने असर, बाल विवाहबारे कानुनी प्रावधान बारे जानकारी गराएर दुवै पक्षको सहमतीमा विवाह रोकिने गरेको छ ।

केटा र केटी दुवै पक्षको सहमतिमा उमेर पुगेपछि मात्रै विवाह गर्ने प्रतिबद्धता गर्ने गरेका छन् । उमेर नपुग्दै विवाह गरेको खण्डमा उनिहरुको अभिभावकनै कानुनी प्रक्रियामा जाने प्रतिबद्धता गर्ने गरेको वडाध्यक्ष राजु कुमार खत्रीले बताए ।

उमेर नपुगी विवाह हुन तयारीमा रहेका विवाह रोकिएपछि यसले समाजमा सकारात्मक सन्देश प्रवाह भएको वडाध्यक्ष खत्रीको बुझाई छ । ‘हामीले सुरुमा अभिभावकलाई सम्झाई बुझाई गरी बिहे रोक्न आग्रह गर्छौ, वडाध्यक्ष खत्रीले भने ।