भुकम्प दिवस मनाइने

0
Shares

किरन धामी, दार्चुला ।
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पनि अगामी माघ २ गते विभिन्न कार्यक्रमको आयोजना गरी भुकम्प दिवस मनाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा आज बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले माघ २ गते भव्यताका साथ भुकम्प दिवस मनाउने निर्णय गरेको हो । दिवस मनाउनको लागी जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीको संयोजकत्वमा जिल्ला समारोह समिति गठन गर्ने निर्णय गरिएको छ ।

समन्वय प्रमुख कार्कीको संयोजकत्वमा जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरुक्षा निकायका प्रमुख, जिल्लास्थित सबै सरकारी कार्यालयहरुका प्रमुख, जिल्लास्थित राजनैतिक दलका प्रमुख, दार्चुला बहुमुखी क्याम्पस प्रमुख, सदरमुकाम स्थित महेन्द्र मा वि का प्राचार्य, जिल्ला विपद् व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरु, गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ र नेपाल रेडक्रस सोसाईटी दार्चुला सदस्य सचिव रहने गरि जिल्ला समारोह समिति गठन गर्ने निर्णय गरिएको छ ।

यस्तै बैठकबाट समारोह व्यवस्थापन उपसमिति समेत गठन गर्ने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समितिका समन्वय अधिकृत, दार्चुला बहुमुखी क्याम्पस, नेपाल रेडक्रस सोसाईटी प्रतिनिधि रहने गरि समिति गठन गर्ने निर्णय गरिएको छ । यसैगरी भुकम्प दिवस जिल्लाका सबै स्थानीय तहहरुले आ–आफ्नो नगरपालिका र गाउँपालिकामा भव्य रुपमा मनाउनु पर्नेछ ।

दिवसको दिन भुकम्पका बेला बच्ने उपाय सम्बन्धि विभिन्न जनचेतना मूलक र्याली, अन्तरक्रिया गर्ने निर्णय गरिएको छ । माघ २ गतेका दिन जिल्ला सदरमुकाम खलंगामा विहान ९ बजे जनचेतना मुलक ¥याली सहित बजार परिक्रमा पछि मंचको कार्यक्रम तथा सबै सुरक्षा निकायहरुको समन्वयमा भुकम्पबाट सुरक्षित हुने चेतनामुलक प्रर्दशनी गर्ने, प्रकोप न्युनीकरण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

बैठक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त आचार्यको अध्यक्षतामा बसेको हो । यस वर्ष भुकम्प दिवसको नारा ‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानिय सरकार’ तय गरिएको छ ।