विजयोत्सव मनाउन मकवानपुरगढी दरबारमा राष्ट्रपति

0
Shares

हेटौंडा,(नेस) ।
राष्ट्रपति विद्यादेवी भण्डारी मकवानपुरगढी दरबारमा हुने कार्यक्रममा आउने पक्का भएको छ । राष्ट्रपति भण्डारी माघ १० गते मकवानपुरगढी दरबारमा हुने विजयोत्सव कार्यक्रममा हेटौंडा आउने पक्का भएको हो ।

विसं १८१९ मा मकवानपुरगढीमा पृथ्वीनारायण शाहको नेपाली फौजले विजय प्राप्त गरेको खुशीयालीमा विजयोत्सव मनाउने कार्यक्रममा राष्ट्रपतिको सहभागिता हुने भएको हो ।

कार्यक्रमको तयारी थालिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले बताउनुभयो । कार्यक्रममा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रदेश मन्त्रीहरु, सांसद्हरुको सहभागिता रहनेछ । गढीदरबारमा राष्ट्रपति आउने भएपछि सिँगारपटारमा नेपाली सेना व्यस्त छ । त्यहाँको तयारीका लागि सेनाको टोली काम गरिरहेको हो ।

भारत बंगालका मुगलसेनाहरु नेपाली गोर्खालीसँग पराजित भएका थिए । १८१९ पुस २७ गते हर्नामाडीको प्रहरी चौकी (हालको गुम्बाडाँडा) मा आएर गढी दरबारमा आक्रमण गरेको इतिहास खोजकर्ता केदारप्रसाद न्यौपानेले बताउनुभयो । गढीका सेनवंशीय राजा दिगबन्धन सेनलाई आफ्नी बहिनी ज्वाई पृथ्वीनारायण शाहले १८१९ भदौ ९ गते गढीबाट लखेटेर मकवानपुर राज्यमाथि जित हासिल गरेका थिए ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा मकवानपुरमाथिको विजय नै उनको पहिलो विजय थियो । दिगबन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँ मकवानपुरगढीबाट लखेटिएपछि बंगाल गएर उनीहरुले आफ्नो राज्य फिर्ता गराउन मुगल सेनाहरुलाई आफ्ना ज्वार्इंविरुद्ध लड्न ल्याएका थिए ।

बंगालको करिब २ हजार ५ सय मुगलसेनाले आक्रमण गर्दा गोर्खालीहरुले उनीहरुको १ हजार ७ सय सेना मारेपछि भागाभाग भएको थियो । मुगल सेनाहरु पराजित गर्दै मकवानपुर राज्य जितेको अवसरमा विजयोत्सव मनाइँदै आएको हो ।

ऐतिहासिक मकवानपुरगढी दरबारमा मंगलबार सरसफाइ भएको छ । मकवानपुरगढी गाउँपालिका–२ को आयोजनामा वडामा रहेका टोली विकास संस्थाहरुको सहभागितामा सरसफाइ भएको हो ।

सरसफाइ अभियानको शुभारम्भ मकवानपुरगढी गाउँपालिका अध्यक्ष हुमागाईंले गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष हुमागार्इंले मकवानपुरगढी देशकै प्रमुख ऐतिहासिक गढी भएकाले यसको संरक्षण र प्रवद्र्धनमा गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले यसलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना अघि बढेको जानकारी दिनुभयो । उहाँले वडा तहका हरेक योजनामा नागरिकको श्रमदानलाई अनिवार्य गरिएको बताउँदै वडामा यसको शुरुवात गढी सरसफाइबाट भएकोमा धन्यवाद दिनुभयो ।