ट्रिपरको ठक्करबाट नगरपालिकाका इन्जिनियर घाइते

0
Shares

रामचन्द्र वि.क., रामेछाप

रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा ट्रिपरको ठक्करबाट मन्थली नगरपालिकाका सव इन्जिनियर कृष्णदाश श्रेष्ठ घाइते भएका छन् ।

बा २ ब ९७२२ नम्बरको मोटरसाइकालमा बुधबार मन्थलीबाट खिम्ती तर्फ जाँदै गरेका श्रेष्ठलाई विपरित दिशाबाट आइरहेको ना ८ ख २०४७ नम्बरको ट्रिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । ट्रिपरको ठक्करबाट श्रेष्ठको हात र खुट्टामा गहिरो चोट लागेको प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिए ।

श्रेष्ठ मन्थली नगरपालिका–११ र १२ गेलुमा कार्यरत छन् । खिम्ती हुँदै भण्डारेबेसीमा भइरहेको सडकको काम हेर्न हिडेका उनलाई ट्रिपरले ठक्कर दिएको वडा नं. १२ का वडाअध्यक्ष कृष्णहरी अधिकारीले जानकारी दिए ।

ट्रिपरको ठक्करबाट सडकबाट करिब ५० मिटर तल झरेका श्रेष्ठलाई सोही बाटो भएर ट्रिपरमा हिडेका प्रत्यक्षदर्शीले देखेर आफूलाई खबर गरेको र घाइते श्रेष्ठलाई उद्धारको लागि तक्काल ट्राफिक प्रहरीलाई खबर गरेको अध्यक्ष अधिकारीले बताए ।

ठक्कर दिएर भागेको ट्रिपर र चालक मुस्तुफा अन्सरीलाई नियान्त्रणमा लिएको प्रबक्ता अदालतले जानकारी दिए । घाइते श्रेष्ठलाई रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ लगिएको पनि अदालतले जानकारी दिए ।