सुप विश्वविद्यालयकाे ऐतिहासिक वृतान्तः ११ दिने आन्दोलन देखि हालको शिक्षक तथा कर्मचारी नियुक्ति प्रकरण सम्म

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
अठार वर्षअघि सुदूर पश्चिम क्षेत्रमा राज्यको लगानीमा सरकारले नै पूर्ण रूपमा सञ्चालन गर्ने विश्वविद्यालय स्थापना हुनुपर्छ भन्ने अभियान सुरु भयो । डा. तीर्थ खनिया समेतका विज्ञहरूको उपस्थिति रहेको उक्त भेलाले क्लष्टर विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारे ।

डा. दुर्गाप्रसाद भण्डारी संयोजक रहेको कार्यदलले वि.स.०६२ मा तयार गरी सरकारलाई बुझाएको प्रतिवेदनमा ४ (तत्कालिन अवस्थामा) वटामात्र आंगिक क्याम्पस रहेको सुदूर पश्चिमका प्रत्येक जिल्लामा कम्तीमा १ आंगिक क्याम्पस हुनैपर्ने सुझाव दियोे ।

सरकारले सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालय तथा चितवनको रामपुरमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर लामो समय देखि सुदूर पश्चिमवासीले माग गर्दै आएको प्रस्तावित सुदूर पश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्ने निर्णय नगरेको विरोधमा महेन्द्रनगरमा विद्यार्थीहरुले आन्दोलन सुरु गरे ।

प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच ठाउँ ठाउँमा झडप हुनुका साथै आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालय लगायतका सरकारी कार्यालययमा ढुंगामुढा गरि तोडफोड हुनपुग्यो । प्रहरीसँगको झडपमा ४० भन्दा बढि विद्यार्थी र सात प्रहरी घाइते भए । कञ्चनपुरमा प्रस्तावित सुदूर पश्चिमाञ्चल विश्वविद्यालय स्थापनाको माग गर्दै शुरु भएको विद्यार्थी आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले २१ फागुन ०६५ बेलुका ८ बजे बाट ३ दिन सम्मका लागि कर्फ्यु लगायो ।

विश्वविद्यालय स्थापना माग गर्दै विद्यार्थीसँगै कञ्चनपुरमा राजनीतिक दल, पेसागत संघ–संगठनहरुले ऐक्यबद्धता जनाएर ०६५ सालमा ११ दिने ऐतिहासिक आन्दोलन भयो । सुदूर पश्चिमका पहाडी जिल्लाहरुमा समेत विश्वविद्यालय माग गर्दै आन्दोलन चर्कियो ।

आन्दोलनका प्रमुख माग
१. विश्वविद्यालयको पूर्वाधार विकासका लागि आवश्यक बजेट निकासा गर्नुपर्ने ।
२. प्राप्त बजेटलाई आर्थिक नियमअनुसार काम गर्नसक्ने उपकुलपति लगायतका पदाधिकारीको नियुक्ति होस् भन्ने । विश्वविद्यालय कञ्चनपुरमा स्थापना गर्ने सरकारको घोषणा ०६५ सालको ११ दिने ऐतिहासिक आन्दोलनको दबाबले ०६७ सालको बजेट वक्तव्यमार्फत सरकारले सुदूर पश्चिमाञ्चल विश्वविद्यालयलाई कञ्चनपुरमा स्थापना गर्ने घोषणा ग¥यो ।
विश्व विद्यालयका सञ्चालनका लागि सरकारले १ बर्ष सम्म कुनै चासो राखेन । आर्थिक वर्ष ०६८/६९ का लागि बजेट विनियोजन गर्ने कुरा त कता हो कता, अर्थमन्त्रीले बजेट वक्तव्यमा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको नामसमेत उच्चारण गरेनन् ।

सुदूर पश्चिमेलीहरुकोे विश्वविद्यालय स्थापनापछि सुदूर पश्चिम शिक्षा क्षेत्रको विकासमा अग्रसर हुने जुन आशा थियो, त्यो आशा उक्त आर्थिक वर्षको बजेटले निराशामा परिणत गरेपछि ०६८ साउन २ गतेदेखि आन्दोलन फेरि चर्कियोे ।

उपकूलपति नियुक्त नगरेकोमा फेरि आन्दोलन
सरकारले सुदुरपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालनका उपकुलपति लगायतका पदाधिकारी नियुक्ति नगरेको विरोधमा आन्दोलनले गति लियो ।

विद्यार्थी आन्दोलनका कारण कञ्चनपुर लगायत सुदूर पश्चिमका प्रमुख सहरहरु तनावग्रस्त भए । आन्दोलन व्यवस्थित गर्न गठित सर्वपक्षिय संयुक्त संघर्ष समितिले ०६८ साउन १३ मा सरकारलाई माग पूरा गर्न १० दिने अल्टिमेटम दिए । त्यो मागको केहि सम्बोधन नभएपछि विद्यार्थीले २४ साउनमा कञ्चनपुर बन्द गरे ।

सुदूर पश्चिमबासीहरुको लामो सर्घष र आन्दोलन पश्चात सूदूर पश्चिमाञ्चल विश्वविद्यालयको स्थापना भयो । लामो आन्दोलन पछि उपकूलपतिमा डा. जयराज अवस्थी र रजिष्ट्रारमा हेमराज पन्तलाई नियुक्त गरियो । उपकूलपति डा. अवस्थी र रजिष्ट्रार पन्तले विश्वविद्यालयलाई राम्रो गति दिए । विश्वविद्यालयले राम्रो उत्पादन गर्न सक्यो ।

पहिलेका उपकूलपति र रजिष्ट्रारको कार्यकाल सकिए पश्चात विश्वविद्यालयमा फेरि राजनीतिक तरङ्ग छायो । राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयले उपकूलपतिमा भूषण श्रेष्ठ र रजिष्ट्रामा द्धिजराज भट्ट पायो । उपकूलपति नेपाली कांग्रेस र रजिष्ट्रटार तत्कालिन एमाले पार्टी बाट नियुक्त गरिएका हुन् ।

उपकूलपतिमा श्रेष्ठ नियुक्त गरिएको साढे तिन बर्ष भयो भने रजिष्ट्रारलाई तिन बर्ष भयो । यतिका समय सम्म यिनीहरुको कार्यकालमा विश्वविद्यालयमा झण्डै ५० पटक जति आन्दोलन र विश्वविद्यालयमा तोडफोड भएको छ । तालाबन्दी त झण्डै ६० पटक भन्दा बढी भएको छ । विश्वविद्यालय तहसनहन पार्ने काम जति अहिलेका उपकूलपति र रजिष्ट्रारले गरेको बुद्धिजीवि सर्कलका व्यक्तित्वहरुको कथन छ ।