टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीद्वारा पदभार ग्रहण

0
Shares

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गरेका छन् । उनले टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा सोमबार पदभार ग्रहण गरेका हुन् ।

सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले चौथो पुस्ताको ‘फोर जी’ सेवालाई देशभर विस्तार गरिने बताए । सरकारले आगामी एक वर्ष्भित्र फोर जी सेवालाई विस्तार गर्ने कार्यादेश दिएको जानकारी दिँदै उनले सो अवधिभित्रै उक्त कार्य सम्पन्न गरिने बताए । टेलिकमले हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा विस्तार गरेको छ ।

टेलिकमको सेवालाई गुनासोरहित गुणस्तरीय बनाउने सङ्कल्प आफूले लिएको स्पष्ट पार्दै उनले भने, ‘सेवा सुधारमा मेरो प्रमुख ध्यान रहन्छ । त्यसमा सम्पूर्ण कर्मचारीको साथ सहयोग र सक्रिय सहभागिता रहन्छ भन्ने मैले विश्वास लिएको छु ।’

ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारमा समेत नजितामुखी काम गर्ने योजनामा आफू रहेको भन्दै प्रबन्ध निर्देशक अधिकारीले सरकारको योजना र लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा विस्तार र विकासमा लाग्ने स्पष्ट पारे ।

नेपाल टेलिकमप्रति आम नागरिकको ठूलो सद्भाव, साथ तथा सहयोग रहेको भन्दै उनले व्यावसायिक कर्ममार्फत विश्वसनीय र गुणस्तरीय सेवा दिने प्रण गरे ।

कूल रु १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमले गत आर्थिक वर्षमा रु ३९ अर्ब ४४ करोड आम्दानी गरेको थियो । टेलिकमले गत आवको नाफाबाट शेयरधनीलाई प्रतिशेयर रु ५५ मुनाफा दिने प्रस्ताव गरेको छ ।