उत्तम नेपाल, भद्रपुर ।
ए बहिनी यी कुहेका तरकारी किन राखेको ? होटललाई दिन । होटलले यस्तो तरकारी लान्छ र ? लान्छ त । यस्ता सढेगलेका तरकारी होटललाई किन बेचेको ? उनिहरुले यही माग्छन् अनि दिएको । यो संम्वाद बजार अनुगमन र तरकारी बिक्रेताबिचको हो ।
भद्रपुर नगरपालिकाले भद्रपुर–१० स्थित चन्द्रगढी बजारमा गरेको आकस्मिक अनुगमनको क्रममा व्यापारीले दिएको उत्तर हो । ममता राजवंशीको तरकारी पसलमा गएको टोलीलाई निकै आक्रोसित हँुदै यस्ता प्रकारका जवाफ फर्काएकी थिइन् । राजवंशी र अनुगमन टोलीबिच केहीबेर विवाद समेत भएको थियो । राजवंशीको पसलबाट इलेक्ट्रोनिक डिजिटल तराजु समेत टोलीले जफत गरेको छ । टोलीले अङ्गुर, भेडे खुर्सानी, करेला, गाँजर र टमाटर विभिन्न पसलबाट प्रयोगशाला प्ररिक्षणको लागि नमुना लिएको छ ।
चन्द्रगढी बजारमा रहेका अधिकांश तरकारी व्यापारीले उपभोक्ताको स्वास्थ्यमाथि चरम लापारवाही गर्दै व्यापार गरिरहेको अनुगमन टोलीले निश्कर्ष निकालेको छ ।
ढक तराजु ठिक नभएको, व्यवसाय दर्ता नविकरण नगरेको , इजाजत नलिएको, मूल्यसूची नराखेको , विषादी र खाद्य सामग्री एकै ठाउँमा राखिएको फेला पारेको थियो । भद्रपुरनगर कार्यपालिका सदस्य विवा पाश्वानको नेतृत्वमा नगरप्रमुख जीवन कुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत तुलसीबहादुर श्रेष्ठ, अधिकृत दयाकृष्ण ढकाल, पशुसेवा, कृषि, जनस्वास्थ्य शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रक भरतबहादुर पुरी, गुणस्तर तथा नापतौल झापाका सिनीयर मेकानिक्स अमित कुमार कर्ण, झापा उद्योग वाणिज्य सङघ, प्रहरी, पत्रकार, कर्मचारी लगायतको टोलीले अनुगमन गरेको थियो ।
टोलीले सुन पसल, दुध डेरी, मोबाईल पसल, खाद्य दोकान, भाडा पसल, तरकारी तथा फलफुल पसल, मासुजन्य पसल गरी दुई दर्जन भन्दा बढी पसल अनुगमन गरिएको संयोजक पाश्वानले जनाइन् । बजार तथा पसल धेरै अव्यवस्थित देखिएको उनले बताइन् । व्यापारीहरुले आधारभूत नियमसमेत पुरा नगरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रक पुरीले बताए ।
अनुगमन गरिएका स्थानमा सुझाव तथा सुधारका लागि अनुरोध गरिएको उनले बताए । बजार अस्तव्यस्त रहेको अनुगमनको क्रममा फेला परेको नगर प्रमुख श्रेष्ठले बताए । सडक अतिक्रमण गरेर राखिएका सामग्रीलाइ तत्काल हटाउन निर्देशन दिएको उनले जनाए । दोस्रो पटक आउँदा निर्देशन पालना नगरेमा सामग्री उठाईने जानकारी पसललेलाई दिएको उनको भनाइ छ ।











प्रतिक्रिया