महेश न्यौपाने, रोल्पा
मदिरा नियन्त्रण अभियानमा जुटेको रोल्पा नगरपालिकाले ७ वुदे आचार संहिता जारी गरेको छ । मदिराको कारण समाज अराजक वन्दै गएको भन्दैे यसको उत्पादन, विक्री वितरण र सेवनलाई व्यवस्थीत गर्न आचार संहिता जारी गरेको हो ।
मदिरा तथा लागु औषध नियन्त्रण आचार संहिता नाम दिई चौथो नगर सभावाट पारित उक्त आचार संहितामा २० वर्ष उमेर नपुगेका व्यक्ति, गर्भवती र सुत्केरी महिलालाई मादक पदार्थ विक्री वितरण गर्न नपाईने उल्लेख गरिएको छ । आचार संहितामा अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक यातायातका साधनमा यात्रा गर्न नपाईने उल्लेख गरिएको छ । यसैगरि मदिरा सेवन गरेको व्यक्ति सरकारी कार्यालय, सार्वजनिक स्थल, सभा समारोह र वैठकमा प्रवेश गर्न नपाईने उल्लेख गरिएको छ । वेलुका ५ वजे देखी ९ वजे सम्म मात्रै मदिरा विक्री वितरण गर्न पाईने आचार संहितामा उल्लेख गरिएको छ ।
कुल धर्म, पुजा आजा र कोशेली प्रयोजनका लागी नियममा व्यवस्था भए अनुसारको मदिरा उत्पादन गर्न पाईने समेत आचार संहितामा उल्लेख गरिएको छ ।
आचार संहिता उलंघन गर्नेलाई पहिलो पटक संझाई वुझाई गर्ने, दोश्रो पटक ५ सय जरीवाना गर्ने आचार संहितामा उल्लेख छ । सोही व्यक्तिले तेश्रो पटक मदिरा सेवन, विक्री वितरण वा उत्पादन गरेको पाईएमा एक हजार सम्म जरीवाना गर्ने उल्लेख गएिको छ । तीन पटक भन्दा वढी मदिरा सेवन गरेको पाईएमा कानुन अनुसार कारवाही गरिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
मदिरा नियन्त्रणका लागी आमा समूह, युवा क्लव, विद्यालय तथा समुदायका अन्य संगठित समूहहरुसंग पनि साझेदारी गर्छौ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने । सामाजिक नियम र मूल्य मान्यता स्थापित गरि मदिरा न्यूनिकरण गर्ने तर्फ जोड दिन्छौ प्रमुख केसीले भने ।
मदिराकै कारण जिल्लामा ठूलो मात्रामा धनजनको क्षती भएको ठहर गर्दै यस्तो कदम चाल्न लागिएको हो । जिल्लामा घट्ने अपराध, आत्महत्या, घरेलुहिंसा, लैंगिकहिंसा, वलात्कार र दुर्घटनामा समेत मदिरा जोडिन आएकाले यसको नियन्त्रणमा नगरपालिका जुटेको हो । मदिरा नियन्त्रणको अधिकार समेत स्थानीय सरकारलाई प्रत्योजन भएपछि यसको नियन्त्रण गर्न नगरपालिका हौसिएको हो ।
नगर कार्यपालिकाको सातौ वैठकले मदिरा वेचविखनलाई मर्यादित वनाउने र सेवनलाई नियन्त्रणमुखी वनाउने निर्णय गरेको थियो । सोही अनुसार नगर उप प्रमुख मनकुमारी घर्तीको संयोजकत्वमा गठित समितिले मदिरा तथा लागु औषध नियन्त्रण संवन्धमा तयार गरेको आचार संहिता नगर परिषदले अनुमोदन गरेको हो ।











प्रतिक्रिया