मेलम्चीको काम २२ दिनदेखि ठप्प

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदै छ । आयोजनाको मुख्य ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सीएमसी दि रेभेन्ना) को उक्त टोली आएपछि मेलम्चीमा देखिएको समस्याको समाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ ।

आयोजनाका उच्च अधिकारीका अनुसार आज सोमबार फर्किने र वार्ता गरेर बाँकी रहेको मेलम्चीको काम सम्पन्न गर्ने भन्दै ती कम्पनीका कर्मचारीहरु स्वदेश फर्केका हुन् । ‘ठेकेदार कम्पनीका कर्मचारीहरु चाड मनाउन भन्दै पुस २३ मा फर्कने सर्तमा नेपाल छोडेका थिए । आएपछि निर्णायक वार्ता बसेर समाधान निकालिने भनेको छ’ –आयोजना स्रोतले भन्यो ।

अब आयोजनाको काम सम्पन्न गर्न कसरी जाने, के गर्ने भन्ने विषय उक्त वार्ता नै निर्णायक हुने उनको भनाइ छ । खानेपानी मन्त्रालयका सहसचिव शंकर सुवेदीले सोमबारदेखि इटालिएन टोली नेपाल फर्कने कुरा भएको बताउनुभयो । ‘प्रमुख नै आउने हो कि प्रतिनिधि मात्रै आउने हो त्यो चाहिँ खुलेको छैन’, उहाँले भन्नुभयो– ‘आउने भनेको छ । आएपछि काम थप अगाडि बढ्न वार्तालाई माध्यम बनाइनेछ ।’

–सीएमसीका सीईओ पोर्सेली आज नेपाल आउँदै
–निर्णायक वार्ता हुने

क्रिसमस र नयाँ वर्ष मनाउने नाममा देश छाड्न लागेका सीएमसीका कर्मचारीलाई पुस १ गते बेलुका त्रिभुवन विमानस्थलमा पक्राउ गरी राहदानी जफत गरेको थियो । पुस २३ मा फर्केर आउने र आयोजनाको बाँकी काम सम्पन्न गर्ने सहमतिमा इटालियन दूतावासको रोहबरमा उनीहरुलाई आफ्नो देश फर्कन दिइएको थियो ।

ठेकेदारले साइट छोडेपछि मेलम्चीको काम २२ दिनेदेखि ठप्प भई अलपत्र अवस्थामा पुगेको छ । मेलम्चीको सुरुङ ढलान एक किलोमिटर बाँकी छ । कंक्रिट लाइनिङको काम ९६० मिटर बाँकी छ । इन्टेकको काम पनि पूरा भएको छैन । हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन। ३ ओटा भेन्टिलेसन साफ्टको काम बाँकी नै छ भने पर्मानेन्ट हेडवोक्र्स बनाउँनै बाँकी छ ।

सरकार र सीएमसीबीच लामो समयदेखि क्षतिपूर्ति विवाद चल्दै आएको छ। ठेकेदार कम्पनी सीएमसीले भूकम्प, नाकाबन्दीलगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठूलो रकम क्षतिपूर्ति माग्दै आएको थियो।
सरकार, आयोजना र ठेकेदारका प्रतिनिधि सम्मितलित डिस्प्युट बोर्ड (विवाद समाधान समिति) ले झन्डै महिना दिनअघि सीएससीलाई मर्का परेको ठहर गर्दै मागदाबी गरेको रकममध्ये ३५ करोड रुपियाँ क्षतिपूर्ति दिन सुझाएको थियो।

तीन वर्षभित्र सम्पन्न गरिसक्ने गरी ७ अर्ब ७२ करोडमा लागतमा २०७० असार ३१ गते सम्झौता भएको थियो । तर तोकिएको समयभित्र बन्नुको साटो पटकपटक आयोजना सम्पन्न भएर पानी काठमाडौं आइपुग्ने भाका तोकिए पनि त्यो भाकामै सीमित छ ।

पछिल्लो विवादसँगै मेलम्ची आयोजना अन्योलमै छ । अहिले लागत रकम बढेर ११ अर्ब पुगिसकेको छ भने ठेकेदार कम्पनीले मात्रै ९ अर्ब रुपियाँ लगिसकेको आयोजनाले जनाएको छ । सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिए पनि चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सीएमसीलाई ठेक्का दिएको थियो ।