काठमाडौंलाई धुलोमुक्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने

0
Shares

हेटौंडा,(नेस) ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि प्रदेश सरकार लागेको बताउनुभएको छ । उहाँले उपत्यकालाई धुलोमुक्त बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ ।

उपत्यका नगरपालिका फोरमको बिस्तारित बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विद्यमान खरिद ऐन संशोधन नभएसम्म विकास निर्माणका कामले गतिलिन नसक्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले खरिद ऐन संशोधन हुनेमा प्रदेश सरकार आशावादी रहेको बताउनुभयो ।

२०८५ सालसम्म प्रदेशका पाँच सहरमा विद्युतीय बस चलाउने नीति प्रदेश सरकारले लिएको उल्लेख गर्दै साना बसलाई बिस्थापित गरेर ठूला बस चलाउने नीति प्रदेश सरकारले लिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्यले मात्र विकासका कामले गतिलिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले फोहरमैला व्यबस्थापन, वातावरण संरक्षण र प्रदुषण नियन्त्रण गर्नसके अधिकांश समस्या समाधान हुने बताउनुभयो ।

प्रदेश सरकार योजना बैंक बनाउन लागेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारसँग योजना माग गर्दा साना योजना नमागी ठूला र मुलुकको समृद्धिमा सहयोग पुग्ने खालका योजना माग गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेलले दीर्घकालिनरुपमा राहत पुग्ने खालका योजनालाई प्राथमिकता दिएर कार्य गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र कागेश्वरी मनोहरा नगर प्रमुख कृष्णहरि थापालगायतले उपत्यकाको एकीकृत विकासका लागि आफूहरु लागिरहेको उल्लेख गर्दै उपत्यकाको समग्र विकासका लागि प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक भएको बताउनुभएको थियो ।