८४ वर्षमा पनि जोशजाँगर तन्नेरीझैं

0
Shares

हेटौंडा,(नेस) ।
गंगाविष्णु ढकाल उत्तरी क्षेत्र पालुङका एकमात्र पुराना व्यबसायी हुन् । व्यबसाय क्षेत्रमा निकै उदाहरणीय व्यक्तिका रुपमा उहाँलाई लिने गरिन्छ ।

उमेरले ८४ पुगे पनि उहाँको जोशजाँगर तन्नेरीझंै लाग्छ । पालुङमा बसेर किराना पसल व्यबसायदेखि औषधी पसलसम्म गर्नु कम चुनौती थिएन । तर, पनि ढकालले त्यस क्षेत्रका ग्राहकका लागि धेरै सहज बनाइदिनुभएको थियो ।

उहाँले पसल सञ्चालन गरेकै कारण धेरैलाई हेटौंडा वा काठमाडौंसम्म धाइरहनु परेन । पालुङको थानाबजारमा बाजेको पसलबाट थोक÷किराना पसल व्यबसाय सुरु गर्नुभएका ढकाल व्यबसाय क्षेत्रमा हेटौंडा, बीरगञ्ज, चितवन र काठमाडौंलगायत शहरमा ओहोरदोहोर गरेको सम्झना आजभोलि ताजै छ भन्नुहुन्छ । दाजुभाइ मिलेर पालुङमा व्यबसाय गर्ने ढकाल परिवार व्यबसाय क्षेत्रमा सक्रिय थियो ।

अचानक भाइ केदारनाथको मृत्युपछि ढकालले २ वटा पसललाई एउटैमा गाभ्नुपर्ने भयो । विहान ४ बजेदेखि राति आठ बजेसम्म घोटिरहनुपर्ने किराना तथा औषधी पसल ब्यबसायबाट गंगाविष्णु ढकाललाई नचिन्ने कोही भएनन् ।

ठूलो मेहनत गर्नुभएका ढकाल हाल पनि उत्तिकै सक्रिय छन् भन्दा युवापुस्तालाई ऊर्जा मिल्नसक्छ । पसल चलाएर ३ छोरा ३ छोरीको पालनपोषण र पढाइ गराउनु कम्ता चुनौती होइन । ग्रामीण भेग, त्यसमा उधारो कारोबारले हैरान खेप्नुभएका उदाहरण पनि गंगाविष्णुसँग ताजा छ ।

‘तर के गर्नु, सबैसँग सधैं पैसा नहुन पनि सक्छ । यो सोचेर उधारोमा सामान बेच्नु पसलेको बाध्यता हो,’ उहाँ भन्नुहुन्छ । हाल छोरा बिमलले यही पेशामा बिंडो थामिरहनुभएको छ ।
विहान ४ बजे उठेर पसल खोल्ने सक्रिय व्यक्ति उनै ढकाल नै हुन् । हाल पालुङमा प्रायः सबै ठूला कम्पनीको डिलर ढकालकै पसलले गरेको छ । देशमै नाम चलेका ब्राण्डसँग काम गर्दा अझ फूर्तिलो जोश बन्ने ढकालको अनुभव छ ।

ढकाल पेशाले पण्डित पनि हुनुहुन्छ । बाउबाजेले गर्दै आएको पेशालाई माया मार्न पनि उहाँले सक्नुभएको छैन । ‘कहिलेकाँही पण्डित्याईं गर्छु,’ उहाँ भन्नुहुन्छ । व्यवसायसँगै पालुङका विभिन्न संघसंस्थामा आवद्ध गंगाविष्णु ढकालकै प्रेरणाले पालुङमा धेरै युवा व्यबसाय क्षेत्रमा लागेको नगरका मेयर लवशेर बिष्टले बताउनुभयो । उहाँ पालुङका मात्र नभएर मकवानपुरका पुराना व्यबसायी हुनुहुन्छ । उहाँको व्यावसायिक क्षेत्रमा सक्रियता अहिले पनि उत्तिकै ऊर्जाशील छ ।

मकवानपुर उद्योग वाणिज्य संघको ५२ औं साधारणसभाको अवसरमा माधवराज सुमार्गी स्मृति व्यावसायिक सम्मान–२०७५ बाट उहाँलाई सम्मानित गरिएको थियो ।