यमलाल भुसाल, बुटवल ।
नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको सम्मान्न गर्न नसकिए जनताको जनमत सधै एकै स्थानमा नरहने बताउनु भयो ।
दुई तिहाईको वर्तमान सरकारले जनतालाई परिणाममा सन्तुष्टि दिन जरुरी रहेको छ भन्दै अध्यक्ष प्रचण्डले जनताका चाहना , ईच्छा र आकांक्षा पुरा गर्न नसकेको प्रति क्रान्तिका शक्तिले जनमतको साथ पाउने धारणा समेत राख्नुभयो ।
वरिष्ठ पत्रकार कर्ण बहादुर कार्कीले प्रकाशित गर्नुभएको पाक्षिक म्यागजिन लोक अभियानको आईतबार बुटवलमा विमोचन गदै अध्यक्ष प्रचण्डले मुलुकलाई समाजवादको नयाँ युगमा डोराउने अवसरका रुपमा सरकारले काम अगाडि बढाउन जरुरी रहेको पनि बताउनु भयो ।
दुई तिहाईको घमण्ड गरी जनताका कुरा सुन्न छाडियो भने जनमतले कोल्टे फेर्न समय नलाग्ने भन्दै उहाँले नेकपा र सरकारलाई अहिले अवसर र चुनौती दुवै रहेको आँैल्याउनुभयो ।
पूर्व प्रधानमन्त्री प्रचण्डले अहिले विश्वमै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा अगाडी बढेको समेत बताउनुभयो ।
दोश्रो विश्वयुद्वको समयमा आक्रमक अवस्थामा रहेको विश्व कम्युनिष्ट आन्दोलन अहिले आएर रक्षात्मक अवस्थाबाट अगाडी बढेको उहाँले बताउनुभयो ।
कम्युनिष्टका विरुद्व प्रतिक्रान्ति शक्ति लागि परेकाले पनि अब नेपालमा कम्युनिष्ट शक्ति एकतावद्ध हुन जरुरी रहेको उहाँको कथन थियो ।
नेपालमा कम्युनिष्टहरुलाई स्थापित हुन नदिन देश भित्र र बाहिरबाट प्रतिक्रान्ति शक्तिहरुले प्रयत्न गरिरहेको दावी गरे ।
कम्युनिष्ट आन्दोलनलाई भ्रमित पारेर जनतालाई भड्काउने काम भइरहेकाले त्यसका विरुद्व जनमत तयार गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले हिजो गुमेको जनमत फर्काउन प्रतिक्रान्तिको कोसिसलाई उल्टाउनु नेकपाको काँधमा ठुलो जिम्मेवारी रहेको बताउनुभयो ।
जनयुद्व र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दैै उपलब्धीलाई टेकेर कम्युनिष्ट व्यवस्थालाई टिकाउन अगाडी बढन् जनमत तयार गर्नुपर्ने बताउनुभयो । समाजवादको नयां युगमा जाने अवसरलाई गुमाउन नहुने अध्यक्ष प्रचण्डको भनाई थियो ।
पुरानो संरचनालाई भत्कायर नयां व्यवस्था शुरु भएको उल्लेख गर्दै संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालाई बचाउनु नै नयां उपलब्धी हुनेकुरामा उहाँले जोड दिनु भयो । जनताको पक्षमा जनमत निर्माण गर्नका लागि पत्रकारिता औजार बन्नु पर्ने बताउंदै उहाँले पत्रकारिता पार्टी र सरकारलाई सच्चाउने , सचेत गराउने मेशिन बन्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा लोक अभियान पत्रिकाका प्रकाशक तथा सम्पादक कर्णबहादुर कार्कीले प्रतिपक्षको भूमिकामा पत्रकारिताको विकास गर्ने सोचले आफु पत्रकारितामा पुनः फर्केर पत्रिका प्रकाशन शुरु गरेको बताउनुभयो । कार्यक्रममा पदमबहादुर कार्की लेखक तथा साहित्यकार दिल साहनीले पत्रकारिता निडर र निष्पक्ष हुनुपर्ने बताउनुभयो ।











प्रतिक्रिया