बजेट कार्यान्वयनमा लाग्न निर्देशन

0
Shares

दीपेन्द्र शर्मा, सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले चालँ आर्थिक वर्षको बजेट कार्यान्वयन नै कर्णाली प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित प्रथम चौमासिक समीक्षा गोष्ठीको वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सरकारको पहिलो प्राथमिकता भनेको बजेट कार्यान्वयन भएको बताउनु भएको हो ।

मुख्यमन्त्री शाहीले चालू आवको बजेटको प्रभावकारी कार्यान्वयनमा लाग्न कर्मचारीलाई निर्देशन दिँदैे बजेटको प्रभावकारी कार्यान्वयन गरे मात्रै सुशासन र पारदर्शिता कायम हुने बताउनुभयो। अहिले बजेटको कार्यान्वयन गर्ने समय भएकाले सम्बन्धित ठाउँमा पुगेर कार्यान्वयन हुने नहुने अवस्था तत्काल मन्त्रालयमा जानकारी गराउन शाहीले निर्देशन दिनुभयो ।

कर्मचारीको रिपोर्टका आधारमा सरकारले कार्यान्वयन नहुने योजनाको बारेमा नयँँ नीति बनाउने उहाँले जानकारी दिनुभयो । कतै बजेट अभाव हुने र कतै बजेटको सदुपयोग नहुने भए राम्रो नहुने भन्दै शाहीले काम नहुने योजनाको रकम रकमान्तर गरेर अरु काम अगाडि बढाइने जानकारी दिनुभयो ।
तोकिएको ठाउँमा आवश्यकता महशुस भएमात्रै योजनाहरु कार्यान्वयन गर्ने तथा अध्ययनबाट सम्भावना नभए योजना कार्यान्वयन नहुने मुख्यमन्त्री शाहीको भनाइ छ ।

गोष्ठीमा मुख्यमन्त्री शाहीले कर्णालीको हरेक उत्पादनको पकेट तोकेर कृषिको विकासमा लाग्नुपर्ने बताउनुभयो । ‘कर्णालीका हरेक उत्पादनको पकेट तोक्नुपर्छ, अनि त्यसलाई सबैतिर विस्तार गर्नुपर्छ’ उहाँले भन्नुभयो । स्थानीय उत्पादनलाई वृद्धि गर्न कर्णालीमा रहेका सबै रैथाने बालीको संरक्षण गर्नुपर्ने मुख्यमन्त्री शाहीले भनाइ छ ।

कर्णालीको समृद्धिका लागि पहिलो प्राथमिकता कृषि भएको बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रदेशलाई अर्गानिक प्रदेश बनाउनका लागि आधार तय गर्ने निर्णय गरिएको बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा कर्णाली प्रदेश १० वटै जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुख, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख, भँमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका निर्देशनालय तथा विभिन्न कार्यालयका प्रमुखहरुको सहभागीता रहेको कृषि मन्त्रालयका सचिव शिवनारायण चौधरीले जानकारी दिनुभयो ।