हेटौंडा ।
नेपालका अधिकृत बिक्रेताहरुले नेपालमा उद्योग, वहुर्राष्ट्रिय कम्पनी, आयातकर्ता र बितरकको भूमिका र बिक्रीबितरण प्रणालीको सही व्यबस्थापन नअपनाइएका कारण व्यापारिक साझेदारीको हैसियतभन्दा मालिक र नोकरको मानसिकताबाट ग्रस्त भएको गुनासो गरेका छन् ।
उनीहरुले जबसम्म बितरकलाई नोकरको मानसिकताबाट हेरिन्छ, तबसम्म व्यबसाय अभिवृद्धिको साटो एकापसमा स्वार्थमात्र प्रेरित भइरहने बताएका छन् ।
उद्योग, कम्पनी, आयातकर्ताले आफ्नो लगानी सुरक्षार्थ बैंक ग्यारेण्टी र नगदमा मात्र कारोबार गर्नुपर्ने भए पनि बितरक व्यबसायीले बजारमा बाँकीमा बितरण गर्नुपरिरहेको अबस्थाले लगानीमा जोखिम उठाउनुपरेको वाध्यात्मक अबस्था उल्लेख गरेका छन् ।
देशका अधिकृत बिक्रेताहरुको छाता संगठन नेपाल अधिकृत बिक्रेता महासंघको हेटौंडामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष डम्बरबहादुर थापाले कुनै राष्ट्रको सर्वाङ्गीण विकासमा देशको राजनीतिले प्रभाव पार्ने भन्दै नेपाल लामो राजनीतिक अस्थिरताबाट गुज्रनुपरेको पीडा हाम्रासामु ताजै रहेको बताउनुभयो ।
‘हाम्रो उद्योग व्यबसाय र सिंगो वाणिज्य क्षेत्र देशको अशान्ति, अमनचयन र अस्थिरताको शिकार हुन पुगेकोमा विडम्बना बन्न पुग्यो,’ उहाँले राज्यको आर्थिक मेरुदण्डका रुपमा रहेका उद्योग, व्यापार र वाणिज्य क्षेत्रले समुचित प्रगति गर्न नसकेको बताउनुभयो । बन्द, हड्ताल, चन्दा आतंक र संरक्षित गुण्डागर्दीको चपेटामा उद्योग तथा वाणिज्य क्षेत्र प्रताडित हुन पुगेको उहाँको दाबी छ ।
‘राज्यको कर र राजस्व संकलनमा अग्रणी भूमिका निभाउँदै आएका निजी क्षेत्रका बितरक व्यबसायीहरु संविधानप्रदत्त स्वतन्त्रतापूर्वक गरिखान पाउने हक र अधिकार कुण्ठित हुनुपरेको छ,’ उहाँले मुलुक ठूलो व्यापार घाटामा चलिरहेको, निर्यातभन्दा आयात दिनानुदिन भयाबह स्थितिले बढिरहेको बताउनुभयो ।
‘देशको आन्तरिक कर र राजस्वबाट मात्र राज्य चल्ने स्थितिमा छैन । रेमिट्यान्सको भरमा मुलुक चलिरहेको अबस्था छ । तसर्थ, दीगो आर्थिक विकास निम्ति यस्तो परिस्थिति डरलाग्दो आर्थिक परिदृष्यबाट अगाडि बढिरहेको छ,’ उहाँले थप्नुभयो–राज्यले व्यापारी भनेका नाफाखोरमात्र हुन् भन्ने र व्यबसायीले आफूलाई नाफाखारीमात्र नभएर राष्ट्रका असल र जिम्मेवार नागरिक एवम् व्यवसायीसमेत हौं । र, मुलुकको विकास, निर्माण र समृद्धिका साथै सामाजिक उत्तरदायित्वमा राष्ट्रका महत्वपूर्ण साझेदार हौं भन्ने भावना विकास गर्न आग्रह गर्दछु ।
अध्यक्ष थापाले स्वदेश तथा विदेशका उत्पादन र आयातित सम्पूर्ण उत्पादन बिक्री बितरणबाट संकलित मूल्य अभिवद्धि कर र मूल्य अभिवृद्धि करले निश्चित गरेको पारदर्शी कारोबारबाट देखिन आएको आयकर, सामाजिक सुरक्षाकर र राज्यले तोकेका विभिन्न कर र राजस्व संकलन गरी राज्य तथा आमउपभोक्ता माझ सेवा पु¥याउँदै हजारौंको संख्यामा रोजगारीका अवसर प्रदान गरेर राज्यलाई आर्थिक समृद्धिमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले अधिकृत बिक्रेताहरु पीडैपीडामा बाँच्नुपरेको गुनासो गर्नुभयो । ‘यस्तो प्रकृतिको व्यबसायलाई राज्यले स्पष्ट सम्बोधन गरेको छैन । मुलुकको विद्यमान कानुनमा यस्तो प्रकृतिको व्यबसायलाई एजेण्टको परिभाषाद्वारा पारिभाषित हुनुपरेकोमा लघुताभाष भएको छ,’ उहाँले गुनासो गर्नुभयो ।
बिक्रेता महासंघ सस्थापक अध्यक्ष गोबिन्दप्रसाद कमाचार्य, कार्यक्रम संयोजक डिलाराम तिवारी, व्यबसायी भगवानदास अग्रवाल र दुर्गाराज श्रेष्ठलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा देशभरका ३५ जिल्लाबाट २ सय ५० प्रतिनिधि तथा १ सय ५० पर्यवेक्षक सहभागी भएको जनाइएको छ ।











प्रतिक्रिया