सहकारीलाई पारदर्शी बनाउन सूचना प्रवाह गर्नुपर्ने

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सबै सहकारीलाई सूचना अधिकारी राख्न निर्देशन गर्न तयारमा आयोग रहेको बताउनुभएको छ।
नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘सहकारीमा सूचनाको हक’ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै बास्कोटाले देशभर सञ्चालनमा रहेका ३४ हजार पाँच सय सहकारीले सूचना अधिकारीको व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागले सहकारीमा सूचना अधिकारी राख्न अनुरोध गरेमा तत्काल सबै सहकारी तथा सहकारीका निकायमा सूचना अधिकारी राख्न निर्देशन दिन तयार भएको बताउनुभएको हो।

सहकारी पारदर्शी हुन नसकेको चर्चा गर्दा बास्कोटाले सूचना अधिकारी राख्ने व्यवस्था हुन सके धेरै सहकारी पारदर्शी हुने धारण राख्नुभयो।सरकारले सहकारीलाई तीन खम्बे अर्थनीतिमा समावेश गरेकाले आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। सहकारीले उत्पादनमा लगानी गर्न सके कृषिजन्य क्षेत्रमा छिट्टै आत्मनिर्भर हुन सकिने बास्कोटाले बताउनुभयो। नेपाल राष्ट्र बैंकका गभर्नर र सहकारी विभागका रजिष्ट्रारको हैसियत उस्तैउस्तै भएको उहाँको भनाइ थियो।

पत्रकारिताका प्रध्यापक रामकृष्ण रेग्मीले सहकारीले सूचनाको हक बेवास्ता गर्न नहुने बताउनुभयो। देशको भविष्य सहकारीसँगै जोडिएकाले सहकारीले उत्पादन र सेवा क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको भनाइ थियो। सहकारी स्थापना भएको ६१ वर्षभन्दा बढी भइसक्दा पनि सहकारीले उल्लेख्य प्रगति गर्न नसकेको बताउनुभयो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीमा पारदर्शिता बढाउन आवश्यक भएको धारणा राख्नुभयो। सहकारी स्वनियमनमा चल्ने भएकाले सहकारीमा सूचना नपाइने समस्या नहुने बताउनुभयो। सहकारीका सबै व्यवस्थापक सूचना अधिकारी भएको र आयोगले भन्दा सरकारले नै सूचना अधिकारी व्यवस्था गर्न सक्ने उहाँको भनाइ थियो।

सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले सहकारीमा सूचनाको हक प्रत्याभूति गराउने जानकारी दिनुभयो।
प्रत्येक सहकारीलाई केन्द्र र प्रदेशमा जोडेर कुल गार्हस्थ उत्पादनमा सहकारीको योगदान बढाउने उहाँको भनाइ थियो। तीन तहका सरकारमार्फत दिन सकिने सबै सूचना दिन कन्जुस्याई नहुने प्रष्ट पार्नु भयो। सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य उपेन्द्र ढुंगानाले सहकारीमा सूचनाको हक कार्यान्वयन हुन कुनै समस्या नभएको बताउनुभयो।

कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले सूचनाको हक कार्यान्वयन गर्न सबै चनाखो हुनुपर्ने बताउनुभयो। सहकारीको तथ्यांक व्यवस्थित हुन नसकेकाले सूचनाको हक प्रयोग गर्दा पनि सूचना नपाइने समस्या रहेको उहाँको भनाइ थियो।
नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यले सूचनाको हकको प्रयोगले पत्रकारलाई खोजी पत्रकारितामा सघाउ पु¥याउने बताउनुभयो।