चान्सलर मर्केललगायत सयौं राजनीतिज्ञको विवरण ह्याक


बर्लिन, (एजेन्सी)
जर्मनीका चान्सलर एन्जेला मर्केललगायतका सयौं जर्मन राजनीतिज्ञहरूको निजी विवरण ह्याक गरी अनलाइनमार्फत सार्वजनिक गरिएको सञ्चार माध्यमले शुक्रबार जनाएके छ। अति दक्षिणपन्थी पार्टी एएफडीको बाहेक अन्य सम्पूर्ण पार्टीका नेताहरूको सम्पर्क, आर्थिक विवरण र निजी च्याटसमेत ट्विटरमा राखिएको छ। सेलेबिंटी र पत्रकारहरूको तथ्यांक र विवरण पनि चुहावट भएको देखिन्छ।

यस ह्याकको पछाडि कसको हात छ भन्ने थाहा हुन सकेको छैन। एउटा नयाँ क्यालेन्डर आएको शैलीमा गत महिना ट्विटरमा ती विवरण राखिएको प्रहरीले जनाएको छ। यस सुूचना चुहावटको कारण के–कति क्षति भयो भन्ने पनि स्पष्ट हुन सकेको छैन। तर न्याय मन्त्री क्याटरिना बार्लीले भनेकी छिन्– ‘यो निकै गम्भीर आक्रमण हो।यसमा काम लाग्ने मानिसहरूले हाम्रो प्रजातन्त्र र संघसंस्थाको गोपनियतामा क्षति पुर्याउन खोजेका छन्।’

जर्मनीको सूचना सुरक्षाका लागि संघीय कार्यालय (बीएसआई) ले यस ह्याकबारे अनुसन्धान गरिरहेको र अहिलेसम्म प्राप्त जानकारीका अनुसार सरकारी सञ्जालहरू भने प्रभावित नभएको जनाएको छ। यस समस्या बारे छलफल गर्न शुक्रबार बिहान राष्ट्रिय साइबर प्रतिरक्षा केन्द्रले एउटा विशेष बैठक डाकेको छ।

सरकारको महिला प्रवक्ताले भने चान्सलरको कार्यालयको कुनै पनि संवदनशील तथ्यांक सार्वजनिक नभएको जनाएको छ। ह्याम्वर्गमा रहेको एउटा इन्टरनेट प्लेटफर्मसंग जोडिएको सो ट्विटर एकाउन्टलाई १७ हजार मानिसले फलो गरेका थिए। तर आरबीबीका पत्रकार माइकल गोट्स्चेनवर्गले अहिले सम्म निजी विवरण बाहेक कुनै राजनीतिक रूपमा तहल्कै मच्चाउने खालको विवरण सार्वजनिक नभए पनि यसको परिणाम सोचनिय हुनसक्ने चेतावनी दिएका छन्। बिल्ड अखबारका अनुसार ती सम्पूर्ण चोरिएका तथ्यांक सन् २०१८ को अक्टोबरअघिको रहेको दाबी गरेको छ।