चिनियाँ रोबोटयुक्त यान चन्द्रमामा अवतरित


बेइजिङ, (एजेन्सी)
चीनले बिहीबार एउटा रोबोटयुक्त अन्तरिक्ष यान अन्ततः चन्द्रमाको टाढाको जटिल क्षेत्रमा अवतरण गराउन सफल भएको जनाएको छ। यो चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो र पहिलो अन्तरिक्ष सफलता मानिएको छ।

चीनको स्थानीय समयअनुसार बिहान १० बजेर २६ मिनेट जाँदा मानवरहित चांग ए – ४ नामक सो यान चन्द्रमाको दक्षिणी गोलाद्र्धको आइतकेन खाल्डोमा अवतरण भएको चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ। यस यानले चन्द्रमामा भौगर्भिक र जैविक प्रयोगहरू गर्नका लागि आवश्यक उपकरणहरू पनि साथमा लगेको छ। यस सफल अवतरणलाई अन्तरिक्ष अन्वेषणको अर्को महवपूर्ण कोशेढुंगाको रूपमा हेरिएको छ। केही वर्ष यता चीनलगायत अन्य मुलुकहरूले पनि चन्द्रमामा थुप्रै अभियान गरिसकेका छन्।

सन् १९७२ मा पछिल्लोपटक मानवसहितको अपोल्लो १७ अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरिएको थियो। चांग ए – ४ ले यसअघि नै पृथ्वीमा पठाएका तस्वीरहरू सरकारी सञ्चार माध्यमले सार्वजनिक गरिसकेको छ।