ट्रम्पलाई किमको उत्कृष्ट पत्र


वासिंगटन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेताबाट आफूले ‘उत्कृष्ट पत्र’ प्राप्त गरेको जानकारी दिएका छन्। आफू किम जोङ उनसँग दोस्रो बैठकको पर्खाइमा रहेको र कोरियाली प्रायद्विपलाई परमाणुमुक्त गर्ने विषयमा वार्ता पुनः शुरू गर्न इच्छुक रहेको ट्रम्पले बताएका छन्।

यसअघि नयाँ वर्षको अवसरमा दिएको एक सम्बोधनमा किमले चेतावनी दिँदै यदि अमेरिका प्रतिबन्धलाई लिएर आफ्नो अडानमा कायम रहन्छ भने प्योङयाङ परमाणु वार्तालाई लिएर आफ्नो नीति बदल्न सक्ने बताएका थिए। ट्रम्पले बुधबार एक बैठकमा आफ्ना मन्त्रिपरिषद्का सहयोगीहरूसँग उक्त पत्रका बारेमा खुलासा गरेका थिए। केहीले पत्र देखाएका थिए। उनले भने– ‘उनले यस्तो पत्र कहिल्यै लेखेका छैनन्। यो उत्कृष्ट पत्र हो। हामीले उत्तर कोरिया र किम जोङ उनसँगको सम्बन्धमा धेरै प्रगति गरेका छौं।

उत्तर कोरियामा ठूलो आर्थिक सम्भावना रहेको र त्यसका लागि आफू किमसँग बैठकका लागि पर्खाइमा रहेको ट्रम्पले बताए। बैठकका लागि निकट भविष्य मै समय तय गर्ने उनले बताए। आफ्नो र किमबीच राम्रो सम्बन्ध स्थापित भएको पनि उनले थपे। किम र ट्रम्पको पछिल्लो वर्ष जुन १२ मा सिंगापुरमा एक ऐतिहासिक बैठक भएको थियो। उनीहरूले कोरियाली प्रायद्विपलाई पूर्ण रूपमा परमाणुमुक्त गर्ने स्पष्ट लक्ष्य जारी गरेका थिए। तर त्यो कसरी र कहिले गर्ने भन्ने विषयमा भने उल्लेख गरिएको थिएन।