अमेरिका चीन व्यापार युद्धले एप्पल कम्पनीको आम्दानी घट्यो


कम्पनीको सेयरमा १० प्रतिशतले गिरावट

वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत चीनसँग छेडिएको व्यापार युद्धले विश्वकै सबैभन्दा ठुला कम्पनीमध्येको एक एप्पल कम्पनी शिकार भएको छ।

एप्पलको भविष्यलाई लिएर लगानीकर्ताहरूमा चिन्ता छ। यसै चिन्ताले न्युयोर्कको स्टक एक्सचेन्जमा बिहीबार लगानीकर्ताहरूमा एप्पलको सेयर बेच्ने होड चलेको देखियो। केही घण्टामै कम्पनीको सेयरमा १० प्रतिशतले गिरावट आयो र त्यसमा कुनै सुधार नै नआई बन्द पनि भयो। स्टक एक्सचेन्जमा सेयरको उतारचढाव सामान्य हो तर एप्पलको सेयरमा आएको यो गिरावटको कारणलाई लिएर व्यापक चिन्ता फैलिएको छ। ट्रम्पको व्यापार युद्धको मार झेलिरहेकामा एप्पलका मात्र नभई सानाठुला सबै लगानीकर्ताहरूमा चिन्ता फैलाइरहेको छ।

एप्पल कम्पनीले सन् २०१९ को पहिलो त्रैमासिकमा ९३ अर्ब डलर आयको अनुमान गरेको थियो तर पछि त्यसलाई घटाएर ८९ अर्ब डलर र एक पटक फेरि संशोधन गर्दै ८४ अर्ब डलर पुर्यायो। एप्पलले विगत डेढ दशकमा पहिलोपटक एप्पलले आफ्नो आम्दानीको अनुमान घटाएको हो। हालै मात्र कम्पनीका मुख्य कार्यकारी टिम कुकले अमेरिकाको चीनसँग व्यापार युद्ध भइरहेकाले आईफोनको बिक्रीमा गिरावट आएको र यो चाँडै रोकिने सम्भावना पनि नदेखिएको बयान दिएपछि लगानीकर्ताहरूमा त्रास फैलिएको हो।

कम्पनीका प्रमुख कार्यकारी कुकले लगानीकर्ताका नाममा लेखेको पत्रमा केही उदाउँदो बजारमा कम्पनीको अगाडि चुनौती बढिरहेको उल्लखे गरेका छन्। अमेरिका र चीनबीच बढ्दो व्यापार तनावले पार्ने चीनको आर्थिक स्थितिले आफूलाई पनि प्रभावित पार्ने उनले बताए। चीनको अर्थव्यवस्थामा सुस्तता आउनुको अर्को एक कारणमा चीनको कम्पनी हुवाबेकी प्रमुख आर्थिक अधिकारी मेंग वाङझोउको क्यानाडामा गिरप्mतार हुनु हो। उक्त गिरप्mतारीपछि एप्पललाई चीनमा विरोधको सामना गर्नुपरिरहेको छ।

आफ्नो पत्रमा कुकले आफू विश्वव्यापी आर्थिक स्थितिलाई परिवर्तन गर्ने हैंसियतमा नभएको तर कम्पनीले आफ्नो सेवा, वेयरबल्स र म्याक कारोबारबाट राजस्व बढाउनमा जोड दिने जनाएको छ। कुकले भने– ‘चीनको अर्थव्यवस्था सन् २०१८ को दोस्रो अद्र्धवार्षिकमा सुस्तता आउन थाल्यो। जुलाइ– सेप्टेम्बरको तीन महिनामा चिनियाँ सरकारको जीडीपी वृद्धिदर विगत २५ वर्षमा सबैभन्दा कम हो। चीन र अमेरिकाबीचको व्यापारिक तनावले त्यहाँको स्थिति अझै कठिन हुनेछ।

ग्रेटर चाइना अर्थात् चीन, हङकङ र ताइवानबाट एप्पलको आम्दानीमा करिब २० प्रतिशत योगदान रहेको छ। यसमा कमी आउनुको प्रत्यक्ष असर कम्पनीमा पर्नु स्वाभाविक हो। यो व्यापार युद्धले अमेरिका आफैं आर्थिक रूपमा पछाडि धकेलिरहेको आँकडाले देखाइरहेको छ। अमेरिकामा विनिर्माण गतिविधिहरूको मापन गर्ने आईएसएम म्यानुफ्याक्चरिङ इन्डेक्समा तिव्र गिरावट आएको छ। बिहीबार जारी उक्त आँकडामा नोभेम्बरको ६२ दशमलव १ को तुलनामा ५१ दशमलव १ को स्तरमा पुगेको छ। विगत ३५ वर्षमा यो इन्डेक्समा यति ठुलो गिरावट नआएको आर्थिक विश्लेषकहरूले बताएका छन्। यसअघि सन् २००१ मा ५ दशमलव ४ अंक र सन् २००८ अक्टोबरमा करिब ९ अंकले गिरावट आएको थियो।

दुई देशबीच व्यापारिक तनाव घटाउन एक अमेरिकी प्रतिनिधिमण्डल अर्को हप्ता चीन जाँदै छ। उनीहरूले चिनियाँ अधिकारीहरूसँग व्यापार युद्धका बारेमा छलफल गर्नेछन्। व्यापार युद्ध घोषणापछि अमेरिका र चीनबीचको यो पहिलो प्रत्यक्ष वार्ता पनि हुनेछ।