पतञ्जलि–१५ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला
एकदिन भगवान् नारायण शेष शय्यामा पल्टेर योगनिद्रित अवस्थामा आराम गर्दै हुनुहुन्थ्यो। लक्ष्मी उहाँको पाउ मिच्तै हुनुहुन्थ्यो। निदाउनुभन्दा अघि भगवान् शंकरको कुनै न कुनै दिव्य लीला हेर्ने नियमित बानी नै थियो विष्णुको। त्यस दिन निद्रामै नारायणले शिवका ताण्डव नृत्यको रमाइलो हेरिरहनुभएको थियो।
ताण्डवनृत्य साह्रै नै मनोमोहक थियो। हेर्दाहेर्दै भावनिमग्न हुनुभयो भगवान् नारायण। उहाँका हृदयमा आनन्दको सागर उल्र्यो। उत्साह र उमंगले उहाँको शरीर फुक्दै–फस्टिँदै र उफ्रिँदै गर्न थाल्यो। शेषनागले त्यो भार सहन सकेनन्। उनी आत्तिए।
‘किन आज नारायण यति धेरै गह्रुङ्गो हुँदै जानुभएको छ ? कहिलेकाहीँ शय्यामा सुतेको सुत्यै शरीर उफार्ने पनि गर्नुहुन्छ। यस्तो त यसअघि कहिल्यै भएको थिएन ⁄ खप्दाखप्दै पनि खपी नसक्नुभयो मलाई त ⁄’ शेषनागले मनमनै भने। उनी असह्य भएर आफ्ना हजारै फणाहरूबाट तात्तातो फुङ्कार छोड्न थाले।
यता आफ्ना पतिको पाउ मिच्न लागेकी लक्ष्मी पनि अतालिएर फुङ्कार छोडिरहेका शेषनागको अवस्था देखेर चिन्तित हुनुभयो।
‘के भयो ? शेषनागलाई ⁄के भयो आज ?’ अत्तालिँदै सोध्नुभयो लक्ष्मीले।
‘भगवान्को सारा शरीर यसरी हल्लिन थालेको छ। उहाँको देहभार म आज खप्न–धान्न सकिरहेको छैन। कस्तो परीक्षा लिन थाल्नुभएको छ भगवान् नारायणले आज मेरो ⁄’ शेषनागले उत्तर दिए।
भगवान् नारायण भने आनन्द मानी–मानी निद्रामा शिर र शरीर दुवै हल्लाउँदै झुम्दै हुनुहुन्थ्यो। लक्ष्मीले त्यो दृश्य एकछिन् हेरिरहनुभयो। अनि शेषनागतिर हेर्दै भन्नुभयो– ‘भगवान्ले आज कुनै राम्रो सपना देखिरहनुभएको छ। यस्तो बेलामा उहाँको निद्रा र सपना खल्बल्याइदिनु पनि त भएन।’
लक्ष्मीजीबाट पनि केही उपाय लाग्ने देखिएन। यता शेषनागलाई भने खपिसक्नु थिएन। उनले आफैं भगवान्लाई जगाउँदा कतै श्राप पो पाइएला कि भन्ने डर। नजगाउनु भने पनि यहाँ शरीर च्यापिएर खपिसक्नु छैन। मर्नुभन्दा बहुलाउनु निको। अन्ततः उनले लक्ष्मीमार्फत भगवान्लाई जगाउने नयाँ उपाय सोचे। शेषनागले लक्ष्मीलाई फेरि भने– ‘मातः ⁄ आज सपनामा किन यतिका बेर लठ्ठिनुभयो श्रीनारायण ⁄ यस्तो त पहिले कहिल्यै पनि भएको थिएन। रिसानी माफ मातः ⁄ कि कतै स्वर्गीय अप्सरा सपनामा आएर उहाँलाई लट्याउन–पट्याउन त थालेनन् ⁄’
क्रमशः
प्रतिक्रिया