भूकम्पले ध्वस्त १२५० विद्यालय बनाउनै कठिन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
न वर्षअघिको भूकम्पले ध्वस्त विद्यालयमध्ये १ हजार २ सय ५० विद्यालय निर्माणमा प्राविधिक समस्या देखापरेको छ। आफ्नो स्वामित्वमा जग्गा नभएका, जोखिममा रहेका र गुठी, मन्दिर परिसरमा रहेका विद्यालयको पुनर्निर्माणमा समस्या देखापरेको हो।

भवन बन्न नसक्दा ती विद्यालयका विद्यार्थी अहिले पनि अस्थायी कक्षाकोठामा पढ्न बाध्य भएका छन्। भूकम्पले ध्वस्त विद्यालय पुनर्निर्माणका लागि गठित केन्द्रीय आयोजना कार्यान्वयन एकाइले त्यस्ता विद्यालय बनाउनै नसक्ने अवस्थामा रहेको जानकारी गराएको छ।

एकाइ प्रमुख इमनारायण श्रेष्ठले विद्यालय व्यवस्थापन समितिको पहलमा विद्यालयले जग्गा प्राप्ति गरे त्यस्ता विद्यालय पुनर्निर्माण गर्न सकिने जानकारी दिनुभयो। भत्किएकामध्ये कतिपय विद्यालय त तत्काल स्थानान्तरण गर्र्नुपर्ने अवस्थामा रहेका छन्, त्यस्ता विद्यालयमा तत्काल पठन पाठन गर्न नहुने उहाँको तर्क छ।

उता चीन र भारत सरकारले विद्यालय पुनर्निर्माणको जिम्मा लिएको काम अझै पूरा भएको छैन। जापानिज सहयोग नियोगले जिम्मा लिएका विद्यालयको अवस्था पनि त्यस्तै रहेको एकाइले जनाएको छ। भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा १०÷१० वटाका दरले ७० वटा विद्यालय बनाउने योजना थियो।

अधिकांश विद्यालय पुनर्निर्माण हुन सकेका छैनन्। चीन सरकारले रसुवा र सिन्धुपाल्चोकका ४ सहित ७ वटा विद्यालय बनाउने घोषणा गरेको थियो। चीनले जिम्मा लिएको विद्यालयको पनि प्रगति निराशाजनक अवस्थामा रहेको छ।

‘हामीसँग भएको तथ्याङ्कमा १ हजार २ सय ५० विद्यालयमध्ये करिब ६ सयको हाराहारीमा रहेका विद्यालयहरूको आफ्नो स्वामित्वमा जग्गा छैन।’ –श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार विभिन्न समस्या झेलिरहेको विद्यालयको सम्पूर्ण तथ्याङ्क संकलन गरी सरकारसमक्ष पेस गरिसकेको छ।

भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा १०÷१० वटाका दरले ७० वटा विद्यालय बनाउने योजना थियो।
चीन सरकारले रसुवा र सिन्धुपाल्चोकका ४ सहित ७ वटा विद्यालय बनाउने घोषणा गरेको थियो।

एकाइले विविध कारणले पुनर्निर्माण हुन नसकेका विद्यालयले स्थानीय तहसँग समन्वय गरी आफ्नो स्वामित्वमा जग्गा प्राप्त गर्नुपर्ने सुझाव दिएको छ। आफ्नो स्वामित्वमा जग्गा नभएका र भूकम्पले ध्वस्त भएका विद्यालयको विषयमा के गर्ने भन्ने विषयमा विभिन्न स्थानीय तहले अध्ययन गरिरहेका छन्।

एकाइको तथ्याङ्कअनुसार देशभर भूकम्पले ध्वस्त विद्यालयमध्ये करिब ३ सय ७० विद्यालय मर्ज भइसकेका छन्। ७ हजार ९ सय २३ विद्यालय ध्वस्त भएकामा अब एकाइले ७ हजार ५ सय ५३ वटा विद्यालयको पुनर्निर्माण गर्ने दायित्व रहेको श्रेष्ठले जानकारी दिनुभयो। ध्वस्त भएका ७ हजार ५ सय ५३ मध्ये हालसम्म ४ हजार १ सय विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको र २ हजार ५ सय सम्पन्न हुने चरणमा रहेको एकाइका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा हालसम्म करिब ६ हजार ६ सय विद्यालय निर्माणको अन्तिम चरणमा रहेका छन्।

२०७२ सालको भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमा क्षति पुगेको थियो। २१ हजार १ सय ६९ कक्षाकोठा पूर्ण र १२ हजार ५ सय २२ कक्षा कोठामा क्षति पुगेको थियो। उता प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भूकम्पले भत्किएकामध्ये झन्डै १७ हजार कक्षाकोठा अझै बन्न सकेका छैनन् ।