असहाय बालबालिकाको न्यानो बन्दै पत्रकार बेल्बासे

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्य तथा प्रेस सेन्टर कपिलवस्तुका कार्यबाहक अध्यक्ष अर्जुन बेल्बासेको सहयोगमा असहाय बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको विजयनगर गाउँपालिकास्थित शिव माध्यमिक विद्यालयमा अध्ययनरत २० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष दिपक खडकाले संचालन गरेको सहयोगी हात अभियानमा पत्रकार बेल्बासेले सहयोगी हात फैलाउनुभएको हो । ‘सहयोगी हात सबैको साथ’ भन्ने नारासहित जिल्लामा गरीब, विपन्न र असहाय बालबालिका, जेष्ठ नागरिक र अपांगता व्यक्तिका लागि सहयोगी हातहरु अभियान संचालन गरिएको छ ।

सहयोगी हात अभियानका अभियन्ता दिपक खड्काको नेतृत्वमा विद्यालयमा पुगेको टोलीले ट्राउजर र हुट वितरण गरेको थियो । सामाजिक संजाल फेसबुक मार्फत संचालन गरिएको सहयोगी हातहरु अभियानमा विभिन्न सहयोगदाताहरुको आर्थिक सहयोगमा चिसोबाट बचाउन न्यानो बाँडेको अभियन्ता खडकाले बताउनुभयो ।

अभियानमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका शाखा सभापति विष्णुप्रसाद खतिवडाले समेत आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्दै आउनुभएको छ । न्यानो कपडा वितरण गर्दै प्रतिष्ठान सभापति खतिवडाले गरीब तथा विपन्न परिवारका लागि अभियान निकै प्रभावकारी रहेको बताउनुभयो । छोराछोरीलाई न्यानो कपडा किन्न नसक्ने गरीब, विपन्न परिवारका लागि न्यानो अभियानबाट ठूलो राहत मिल्ने खतिवडाले विश्वास व्यक्त गर्नुभयो । प्रत्येक वर्ष चिसोकै कारणले धेरै बालबालिकाहरुले ज्यान गुमाउने गरेकोले यस्ता अभियानले निरन्तरता पाउनुपर्ने उहाँले बताउनुभयो । सामाजिक क्षेत्रमा सधैं अग्रसर हुने खतिवडाले अभियानलाई सफल पार्न सक्दो सहयोग गर्न समेत सबैलाई आग्रह गर्नुभयो ।

विजयनगर गाउँपालिका सरसफाई संयोजक समेत रहेका अर्जुन बेल्वासेले आफ्नो सानो सहयोगले बालवालिकाहरुलाई चिसोबाट राहत मिल्ने बताउनुभयो । चिसो वढिरहेको अवस्थामा अति गरीव तथा विपन्न परिवारले आफ्ना वालवालिकालाई चिसोबाट वचाउन समस्या भएको कारण आफुले सहयोग गरेको उद्घोष गर्नुभयो । स्थानीय युवा नेता लोकेस थापाले सहयोगीदातालाई विशेष धन्यावद दिनुभयो । जिल्लाकै पछाडि परेको विद्यालयमा आएर सहयोग गरेको भन्दै थापाले अभियन्ताको प्रशंसा गर्नुभयो ।

यसअघि अभियन्ता खडकाले शिवराज नगरपालिका ९ अन्तर्गत नेपाल राष्ट्रिय आधारभूत विद्यालय भगवानपुरका २० जना गरीब, विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको थियो । सहयोगी हातहरुमार्फत खडकाले गतवर्ष दुई लाख बढीको न्यानो कपडा वितरण गर्नुभएको थियो ।