प्रदेश ५ को सभामा सांसदको प्रश्नः नाम र राजधानी छिटो तोक्न सरकारसंग माग

0
Shares

यमलाल भुसाल, बुटवल ।
पाँच नम्बर प्रदेशको प्रदेश सभा बैठकमा सांसदहरुले प्रदेशको नाम र राजधानी छिटो तोक्न सरकार संग माग गरेका छन ।

सभाको विहिवार र शुक्रवारका बैठकमा विशेष समय लिएर वोल्ने सांसदहरुले दुई तिहाईका आधारमा होइन, सर्बसम्मत नाम र सर्बसम्मत ठाउँको खोजी गर्नुपर्ने बताएका छन ।

सत्ता पक्षका सांसद कमलराज श्रेष्ठले प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ भएको बताउदै दुई तिहाईका आधारमा होइन, सर्बसम्मत नाम र सर्बसम्मत ठाउँको खोजी गर्नुपर्ने बताउनु भयो ।

उहाँले सर्बसम्मतीको खोजीका लागि समिति बनेको बताउदै अब समितिको म्याद एक दिन पनि थप्न नहुने बताउनु भयो ।

अब नाम र केन्द्र निर्धारण समितिको म्याद २ महिना बाँकी छ रहेको छ भन्दै उहाँले ‘हामी नाम र राजधानी तोक्न सक्दैनौं भने अरु हामी के गर्न सक्छौं ?

शुक्रबारको बैठकमा नेपाली कांग्रेसकी सांसद निर्मला क्षेत्रीले सांसद रमेश चौधरीको सपथ संविधान विपरीत भएको जिकिर गर्नु भयो ।

उहाँले भन्नु भयो ‘संविधानको कार्यान्वयन गर्ने सरकारले नै धज्जी उडायो, हिजो किन मिलेन र आज कसरी मिल्यो ?’

औचित्यबिना सपथ खुवाइएको प्रति आपत्ती जनाउदै उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

सांसद क्षेत्रीले मालारानी २ का वडाअध्यक्ष विष्णु भुसाल पौष २ गतेबाट बेपत्ता भएकाले उहाँको स्थिति खोजबिन गरी र परिवारजनलाई जानकारी गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रदेशसभाको विहिवार बैठकमा पनि सांसद सन्तोशकुमार पाण्डेले प्रदेशको नामाकरण र स्थान तोक्न सुझाव दिन गठित बिशेष समितिको कामप्रति टीका टिप्पणी नगरी सो विषयको टुंगो छिटो लगाउनुपर्ने भन्दै प्रदेशको नाम लुम्बिनी र राजधानी रुपन्देही राख्न माग गर्नु भयो ।

सभामा सांसदहरुले मलको अभाव भएको विषय देखि राजधानीको नामाकरण र स्थायी राजधानी तोक्ने बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद इन्द्रप्रसाद खरेलले प्रदेशभर अहिले मलको अभाव रहेको भन्दै किसानले सहज रुपमा मलखाद पाउने ब्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले प्रदेशका सबै जनतालाई पायक पर्ने ठाउमा स्थायी राजधानी तोकिनु पर्ने माग समेत गर्नु भयो । सांसद रमा अर्यालले नदीजन्य पदार्थको ठेक्का लगाउन ढिलाइ हुँदा अबैध रुपमा त्यसको चोरी निकासी भएकोले राज्यलाई प्रत्यक्ष घाटा भएको भन्दै छिटो ठेक्का लगाउने ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद कृष्णध्वज खड्काले प्रदेशमा अत्यधिक मात्रामा चुन ढुंगा लगायतका खानीहरु रहे पनि त्यसको ब्यवस्थित रुपमा उत्खनन र समुचित उपयोग हुन नसकेको भन्दै उचित ब्यवस्थापन गरेर लाभ लिने ब्यवस्था मिलाउन माग गर्नु भयो ।

त्यसैगरी विशेष समयमा बोल्दै सांसद भुवनेश्वर चौधरीले बर्दीयाको चेपाङ बस्तीको अवस्था दयनीय रहेको भन्दै सो बस्तीमा कम्तिमा गोरेटो बाटो,प्राथमीक स्वास्थ्य सेवाको ब्यवस्था मिलाउन माग गर्नु भयो।

सांसद अष्टभूजा पाठकले भारतीय पक्षले रुपन्देहीको सीमा क्षेत्र मर्चवारमा बनाएको सडकका कारण त्यस क्षेत्रका जनता डुवानको समस्यामा पर्ने भन्दै समस्या समाधानको पहल गर्न माग गर्नु भयो । सांसद कल्पना पाण्डेले वजेट कार्यान्वयन बारे मन्त्रालयहरुको प्रगति विवरण सार्वजनिक गर्न माग गर्नु भयो ।