करारका शिक्षकलाई स्थायी गर्नेप्रति टीआई नेपालको ध्यानकर्षण

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
भ्रष्टाचार विरुद्ध लामो समयसम्म काम गर्दै आएको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले त्रिभुवन विश्वविद्यालयमा करारमा काम गर्दै आएका शिक्षकलाई स्वतः स्थायी गर्ने खबरप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष खेमराज रेग्मीले शुक्रबार त्रिभुवन विश्वविद्यालय प्रशासनलाई पत्र लेख्दै ध्यानकर्षण गर्नु भएको हो ।

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयअन्तर्गत करारमा काम गर्ने शिक्षकहरुलाई स्वतः वा निश्चित कोटा छुट्याएर स्थायी गर्न लागिएका समाचारहरु बाहिर आएका छन् ।

सञ्चारमाध्याममा आएका यिनै समाचारहरुलाई मध्यनजर गर्दै संस्थाले चासो व्यक्त गरेको हो । करार, अस्थायी र आंशिक प्राध्यापन गर्ने गरी नियुक्त भएका शिक्षकहरुलाई स्वतः वा निश्चित कोटा छुट्याएर स्वच्छ प्रतिस्पर्धा विना नै अप्रजातान्त्रिक असंवैधानिक र अपारदर्शी ढङ्गबाट स्थायी गर्ने प्रक्रिया अप्रजातान्त्रिक र असंवैधानिक रहेको कुरा पत्रमा उल्लेख गर्दै खुला प्रतिस्पर्धा विना गरिने कुनै पनि प्रकारका नियुक्तिमा पारदर्शिताको अभावले योग्य व्यक्तिहरुको छनौट हुन सक्नेसंभावना न्यून हुन पुग्ने जनाएको छ ।

यसकारण योग्य शिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने विद्यार्थीहरुको नैसर्गिक अधिकारबाट बञ्चित हुनुपर्ने स्थिति उत्पन्न हुन नदिनका लागि संस्थाले यसप्रति चासो व्यक्त गरेको हो । यसकारण कानूनी राज्यमा हुने समानताको हकको सुनिश्चितताको आधारमा मात्र विश्वविद्यालयअन्तर्गतका शिक्षकहरुको स्थायी गर्ने व्यवस्था हुनेस्थिति सिर्जना गर्न संस्थाले माग गरेको छ ।