दार्चुलाका सात स्थानिय तह अतिदुर्गममा

0
Shares

किरन धामी, दार्चुला,
सरकारले राज्यको पुर्नसंरचना पश्चात् साविकमा रहेको जिल्लागत प्रशासनिक वर्गीकरणलाई स्थानीय तहअनुसार पुनरावलोकन गरेको छ । पुनरावलोकन अनुसार स्थानीय तहको प्रारम्भिक प्रशासनिक वर्गीकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको छ ।

पुनरावलोकन अनुसार दार्चुलाका ७ वटा स्थानिय तहहरु (क) वर्गमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रारम्भीक प्रशासनिक वर्गीकरण अनुसार स्थानीय तहलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गलाई अतिदुर्गम, ‘ख’ वर्गलाई दुर्गम, ‘ग’ वर्गलाई मध्यम र ‘घ’ वर्गलाई सुगम स्थानीय तहको संज्ञा दिइएको छ ।

दार्चुला जिल्लाका ७ स्थानिय तहहरु अतिदुर्गम अर्थात (क) वर्गमा परेका छन् । जिल्लाको अपिहिमाल, दुहुँ, नौगाड, ब्याँस, मार्मा, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकालाई अतिदुर्गममा राखिएको छ, भने मालिकार्जुन गाउँपालिकालाई (ख) वर्ग अर्थात दुर्गममा राखिएको छ ।

यस्तै जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकालाई (ग) वर्ग अर्थात मध्यममा राखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वर्गीकरणमा विद्यमान ७ सय ५३ स्थानीय तहमध्ये १ सय ६२ लाई अतिदुर्गम (क) वर्गमा, २ सय १८ लाई दुर्गम (ख) वर्गमा, २ सय ७५ लाई मध्यम (ग) वर्गमा र ९८ लाई सुगम (घ) वर्गमा राखिएको छ । वर्गिकरण अनुसार सबैभन्दा बढी स्थानी तह ‘ग’ वर्ग (मध्य) मा परेका छन् ।