६ सय बालबालिकालाई टोपी वितरण

0
Shares

नानीराम नेपाल, सुनकोसी, सिन्धुपाल्चोक ।
जाडोले हिमाली क्षेत्रको पठनपाठन प्रभावित भइरहेका बेला सुनकोसी गाउँपालिकास्थित दुई विद्यालयका विद्यार्थीहरुलाई टोपी प्रदान गरिएको छ । शुत्रबार सुनकोसी गाउँपालिकामा अवस्थित महेन्द्रोदय माध्यमिक विद्यालय र कोल्दोङदेवी माध्यमिक विद्यालयका ६ सय बढि विद्यार्थीलाई टोपी प्रदान गरिएको हो ।

बाह्रविसे नगरपालिका–६ निवासी यूवा व्यवसायी आङदोर्जे शेर्पाले विद्यार्थीहरुका लागि ब्यक्तिगत रुपमा टोपीको व्यवस्था मिलाएका हुन् ।

व्यवसायी शेर्पाले विद्यार्थीका लागि टोपी उपलव्ध गराएपछि शुक्रबार सुनकोसी गाउँपालिका –६ का वडाध्यक्ष रामकुमार थापाले दुई विद्यालयमा पुगेर विद्यार्थीहरुलाई टोपी प्रदान गरे ।

पत्रकार एवम कोल्दोङदेवी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिनेश थापाले विद्यार्थीलाई टोपीका लागि शेर्पासँग समन्वय गरेका थिए । ‘चीसो बढिरहँदा टोपी पाउँदा बालबालिकाले राहतको महसुस गरेका छन्’, सुनकोसी ६ का वडाध्यक्ष रामकुमार थापाले भने ।

चीसो दिनानुदिन बढिरहेका बेला टोपी पाउँदा बालबालिकाका मुहारमा खुसी छाएको कोल्दोङदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव कार्कीले बताए ।

‘चीसोले पठनपाठनमा नै प्रभाव पारिरहेको थियो, अब केहि सहज हुनेछ’, उनले भने । चीसोका कारण कक्षाकोठामै विद्यार्थीहरु बिरामी समेत हुने गरेको उनले सुनाए ।