सुदूर पश्चिमाञ्चल विश्वविद्यालयः उपकूलपति र रजिष्ट्रारको यस्तो रबैया !

0
Shares

मनोज भट्ट, महेनद्रनगर ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टले पद सम्हाले देखि नै आफ्नो रबैया देखाउदै आएका छन् ।

विश्वविद्यालयलाई आफ्नो नीजि अर्थात पैतृक सम्पतिको जसरी प्रयोग गर्दै आएका उपकुलपति र रजिष्ट्रारले विद्यार्थीलाई मात्रै समस्यामा पारेका छैनन् । कि विश्वविद्यालयमा प्राध्यपन गराउने क्षमतावान प्राध्यापकहरुलाई समेत गल्ति बिना नै कारबाहिमा पार्ने गरेका तथ्यहरु आजभोली सार्वजनिक हुनथालेका छन् ।

विश्वविद्यालयभित्र मौलाएको अनियमितता र पदीय दुरुपयोगविरुद्ध विभिन्न चोटी विद्यार्थी तथा प्राध्यपकहरुले बिद्रोह गरे । शिक्षा मन्त्रीलाई समेत पटकपटक ज्ञापनपत्र बुझाइए, तर त्यसको फलः स्वरुप उपकुलपति र रजिष्ट्रारले ज्ञापनपत्र बुझाउने विभागीय प्रमुखको समेत ग्रेड घटुवा गर्दै अन्यत्र सरुवा गर्ने गरिएको पाइएको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा गत फागुन २० गते मानविकी तथा सामाजिक शास्त्र संकायका विभागीय प्रमुख बनेका खगेन्द्र जोशीले ‘विश्वविद्यालय नेतृत्वबाट हुँदै आएका गैरजिम्मेवार, अनियमित तथा पदीय दुरुपयोगसँग सम्बन्धित क्रियाकलापविरुद्ध असार ६ गते शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई १३ बुँदे ज्ञापनपत्र पठाएका थिए । ज्ञापनपत्रको सुनुवाइ हुनुको साटो आफु विरुद्ध गएको भन्दै विश्वविद्यालयका उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टले असार ११ गते जोशीलाई ‘अर्को व्यवस्था नभएसम्मका लागि परीक्षा नियन्त्रण कार्यालयमा काजमा खटाएको’ पत्र थमाएको थियो ।

“बेथितिबारे बोल्दा विभागीय प्रमुख कारबाहिमा”
“उपकूलपति र रजिष्ट्रारलाई ठिक पार्न प्राध्यापकहरु एकजुट”

विश्वविद्यालयमा नेतृत्वको गैरजिम्मेवार क्रियाकलापका कारण दिन प्रतिदिन धरासायी बन्दै गइरहेको संकटपूर्ण स्थितिबाट जोगाउन अपिल गर्नुपरेको जोशीले ज्ञापनपत्रमा उल्लेख गरेका थिए ।

विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संरचनागत क्षेत्रसँग सम्बन्धित विषयमा १३ बुँदे ज्ञापनपत्रमा ५ सदस्यीय कार्यकारीको व्यवस्था भएपनि २ सदस्यीय परिषद् चलाएको, कमिशनको चलखेलमा विश्वविद्यालयको नियमविपरीत शैक्षिक कार्यक्रम सम्बन्धनका लागि सूचना प्रकाशित गरेको, इन्जिनियरिङ विभागको भवनमा सम्झौता अनुसारको काम नभएपनि ठेकेदारलाई हस्तान्तरण गरिएको प्रमाणपत्र दिएको, १ करोड बढीको ठेक्का दिँदा काठमाडौंको सम्पर्क कार्यालयबाट कोटेशन फाराम वितरण गरिएको, कालोसूचिमा परेका व्यक्तिलाई कन्सल्ट्यान्ट नियुक्त गरिएको लगायतका आरोप लगाइएको थियो ।

जोशीले शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएपछि मन्त्रालयले विश्वविद्यालयले गरेका अनियमितताबारे छानविन गर्दै असार पहिलो साता गैरकानूनी ढंगले निजी क्याम्पसलाई सम्बन्धन दिन विश्वविद्यालयले प्रकाशित गरेको सूचना खारेज गर्ने निर्णय गरेको थियो ।

विश्वविद्यालयका रजिष्ट्रार भट्टद्वारा हस्ताक्षरित पत्रमा विभागमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त विभागीय प्रमुखको जिम्मेवारी तोक्न समेत डिनको कार्यालयलाई बोधार्थ पत्र दिइएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयमा काजमा खटाएका जोशी आफुले विश्वविद्यालयको हितका विषयमा पटकपटक आवाज उठाउदा उपकूलपति र रजिष्ट्रारले आफ्नो रबैया देखाउदै आएको बताए । ‘मलाई परिक्षा नियन्त्रण कार्यालयमा कुनै काम नै तोकिएको छैन, म सधै पढाइराख्न रुचाउने मान्छे, मलाई यहाँ कैदीबन्दी भएर बसिरहेको जस्तो अनुभव हुन्छ । काम भनेको बिहान १० बजे आएर हाजिर लागाउने र बेलुका ५ बजे घर जाने मात्रै हो । अर्को व्यवस्था नभए सम्मका लागि भन्दै मलाई असार दास्रो साता देखि बिनाकाम राखिएको छ ।’

सुप विश्वविद्यालय प्राध्यापक संघ गठन
विश्वविद्यालयमा रहेका प्राध्यापकहरुका विभिन्न संघ तथा संगठनहरु रहेको बेला सम्पुर्ण संगठनलाई समायोजन गरेर बिहिबार सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ गठन गरिएको छ । विश्वविद्यालयका सम्पुर्ण १४ ओटा आंगिक क्याम्पस तथा केन्द्रीय क्याम्पसको समायोजमा यज्ञराज पाठकको संयोजकत्वमा ३९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

सुप विश्वविद्यालय प्राध्यापक संघ गठन गरिए संगै सम्पुर्ण सिन्डिकेटको अन्त्य भएको छ । विश्वविद्यालयमा हुने गरेका सबै प्रकारका अवैध गतिविधि, विकृति तथा गैरजिम्मेवारहरुको भण्डाफोर र ऐक्यवद्ध भएर विरोध गर्नका निमित्त उक्त संघ सक्रिय रहने प्रा. शंकर भट्टले बताए । अब व्यक्तिगत स्वार्थका लागि संगठनलाई चलाउन नसकिने र विश्वविद्यालयका हितका लागि खबरदारी गर्ने गरि संगठन तयार गरिएको प्रा.मुकुन्द कलौनीले बताए ।