दुर्गाप्रसाद शर्मा, पर्वत
बाबुको मृत्युपछि पालनपोषण गर्ने दायित्व आमा सर्छ तर आफ्ना नावालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गरेपछि छोराछोरीको पालनपोषण कस्ले गर्ने ?
बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गरेपछि पर्वतको कटुवाचौपारीमा दलित परिवारका तीन बालक बिचल्लीमा परेका छन्। ०७४ मंसिरमा मृत्यु भएका पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका छन । उनका दुई श्रीमतीमध्ये सावित्री दमै चार वर्षअघि र कान्छी देवी परियार दुई वर्षअघि दोस्रो विवाह गरी गइसकेका छन्।
देवीतर्फका छोरा विवेक र सावित्रीतर्फ विशाल र विश्वास बाबुको मृत्युपछि सहाराविहीन बनेका हुन्। उनीहरु वृद्ध हजुरबुबा हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन्। १५ वर्षीय विशाल कक्षा ९ मा, १४ वर्षीय विवेक कक्षा ७ मा १२ वर्षीय विश्वास कक्षा १ मा पढ्दै छन्। स्थानीय सार्वजनिक माविमा अध्ययन गर्दै आएका उनीहरुलाई खानलाउन मात्रै होइन नियमित पठनपाठनमा समेत समस्या छ।
‘जाडो महिना। गतिलो कपडा लगाउन नपाउँदा चिसोले सताएको छ। राति ओढ्ने÷अच्छ्याउनेसमेत नहुँदा समस्या छ’, हजुर आमा गौमतीले गुनासो गरिन्। कुस्मा नगरपालिकाले १० हजार रुपैयाँ सहयोग दिएको थियो। ‘छोराको मृत्यु हुँदा लागेको ऋण त्यही पैसाले तिरियो’, गौमतीले भनिन्, ‘हामीलाई ठूलो आर्थिक समस्या छ।’
सानो झुप्रोबाहेक केही नभएका उनीहरुको आम्दानी पनि छैन। बिहान बेलुकाको छाक टार्न र एकसरो लगाउनसमेत धौधौ परेको हजुरआमा गौमती दमैले बताउनुभयो । ७० वर्षीय हजुबुबा केदार दमै गाउँमा मजदुरी गर्नुहुन्छ । उहाँले कमाएको दिन तीनजना नातिले खान पाउने नत्र पेटभरि खानसमेत पाउने अवस्था नरहेको हजुरआमा गौमतीको भनाइ छ।
पर्वतमा गुरुदत्त ढकाल प्रमुख जिल्ला अधिकारी भएर आएपछि तीन बालकलाई राहत मिलेको छ। प्रजिअ ढकालले उनीहरुलाई सहयोगका लागि पहल गर्दै आएका छन्। वैशाखदेखि पर्वतमा प्रजिअको जिम्मेवारी सम्हालेका ढकालको पहलमा जेठबाट बालकको हेरचाह, पालनपोषण र शिक्षाका लागि मासिक ६ हजार रुपैयाँ परिवारले पाउन थालेका छन्। वडाको सिफारिसमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि उक्त संस्थाले तीन बालकलाई जनही मासिक २ हजार रुपैयाँका दरले सहयोग गर्दै आएको छ।











प्रतिक्रिया