ज्येष्ठ नागरिकलाई न्यानो कपडा

0
Shares

धनवीर दाहाल,रुकुम
जिल्लाको चौरजहारी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । करिब नौ लाख बराबरको नरम कपडा भएको नर्थफेसको ज्याकेट खरिद गरी नगरपालिकाका सबै वडामा पुगेर वितरण गरिएको हो ।

नगरपालिकाको ज्येष्ठ नागरिक लक्षित उक्त बजेटबाट एकहजार दुईसय थान ज्याकेट खरिद गरेर सबैलाई वितरण गरिएको नगरपालिकाका उपप्रमुख राधा रोकाले जानकारी दिनुभयो । महिला पुरुष दुवैलाई मिल्ने र उल्टोसुल्टो दुवैतर्फ लगाउन मिल्ने खालको नरम ज्याकेट ज्येष्ठ नागरिकहरुलाई प्रदान गरिएको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सल्लाह सुझाव संकलन तथा अन्तक्र्रिया कार्यक्रममा कर्णाली प्रदेश सांसद गोपाल शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा र नगरप्रमुख विशाल शर्माले ज्याकेट हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकका समेत गुनासा तथा सुझावहरु लिइएको थियो ।

कार्यक्रममा नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य ऋषिप्रसाद शर्मा, प्रदेश कमिटी सदस्य तथा नगरपालिकाका उपप्रमुख राधा रोका लगायतको उपस्थिति रहेको थियो ।

ज्येष्ठ नागरिकहरुमा खुसी थपियोस र चिसोमा न्यानोको अनुभूति हुन सकोस भनेर यस्तो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख रोकाले बताउनुभयो ।

आफूहरुले यसरी कपडा पाउँदा ज्येष्ठ नागरिकहरु खुसी भएका छन् । चौरजहारी नगरपालिका –७ कोटजहारीकी ७४ वर्षीय पार्वती नेपालीले नगरपालिकाले ज्याकेट दिएकोमा खुसी हुँदै अहिलेका दिनहरु राम्रै आएको प्रतिक्रिया दिनुभयो ।
सामाजिक सुरक्षा भत्ता पाउने नामावलीमा समावेश भएका ज्येष्ठ नागरिकहरुलाई यो सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।