नेपाल समचारपत्र, काठमाडौं ।
विभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालदेखि लागु हुनेगरी सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको छ ।
२०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै सरकारले आगामी २०७६ सालदेखी नै थप १५ वटा जातीय तथा सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको विदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक विदाको प्रस्ताव गरेको छ ।
सरकारले सम्पूर्ण जातीहरुको मागलाई मध्यनजर गर्दै आगामी वर्षदेखी किरात समुदायको चाड उभौलि र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन विदा र इदुल पित्र, बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने प्रस्ताव गरिएको छ ।
क्रिश्चिनय जातिको क्रिसमसको दिन, गुरुङले जातिको तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्वो ल्होसारमा पनि सार्वजनिक विदा प्रस्ताव गरिएको छ । त्यस्तै छठ पर्वमा पनि विदा प्रस्ताव गरिएको छ ।
पछिल्लो पटक महिलावादीहरुले ऋषि पञ्चमी पर्व महिलाविरोधी रहेको भन्दै विदा कटौतीको माग गर्दै आएतापनि राष्ट्रसेवामा कार्यरत महिलाहरुको माग बमोजिम पुनः ऋषि पञ्चमीमा महिलालाई विदा प्रस्ताव गरिएको छ ।
यसका साथै माघ १ गते थारु समुदायको माघी पर्व र नेपाल ब्राम्हण समाजको माग बमोजिम जनैपूर्णिमामा पनि सार्वजनिक विदा दिने प्रस्ताव गरिएको छ ।
सम्पूर्ण प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भइरहेको छ ।











प्रतिक्रिया