आमाको किरीया गर्ने श्रीमतीलाई श्रीमानको साथ

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।
बुढी आमा हुनुहुन्थ्यो बित्नुभएछ बोलाउन जानुपर्यो भन्दै गठ्ठाघरकी एक जना महिला जाँदै हुनुहुन्थ्यो । सविनाले साह्रै राम्रो निर्णय गरिछन् उनका श्रीमान् पनि साह्रै भलाद्मी रहेछन् तेसैले भेटन जान लागेकी । यस्तो नमूना काम समाजमा पहिलो नै होला ।

माथिको भनाईलाई पच्छ्याउँदा सैनिक अस्पतालबाट सेवानिवृत्त भएकी गठ्ठाघर निवासी पुर्वनर्स सबिना फुँयाल केसी यतीखेर आफ्नी दिवंगत आमाको काज किरीयामा सेतो पहिरन लगाएर कोरामा बस्नुभएको रहेछ । उहाँकी आमा विष्णुकुमारी फुँयालको ९० वर्षको उमेरमा यहि पुस १३ गते निधन भएको रहेछ ।

फुर्केसल्ला दोलखामा जन्मी घ्याङ्ग सुकाठोकर दोलखा निवासी विष्णुकुमारी विगत लामो समयदेखि गठ्ठाघरस्थित आफ्नी साँहिली छोरी सबिनाको घरमा बस्दै आउँनु भएको रहेछ । सविनाका अरु ३ जना दिदी बहिनीहरु पनि छन् तर किरीयामा सविना एक्लै बसेकी छन् ।

नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा लामो समय काम गरि ९ वर्षअघि सेवा निवृत्त हुनु भएकी छोरी सबिनाले आफुलाई जन्म र कर्म दिने आमालाई बाँचुञ्जेल रेखदेख गर्दै आएकी थिइन । अन्तत सन्तान हुनुको कर्तव्य निवार्ह यसरी गर्दैछिन् ।

झण्डै १ वर्षदेखि थला परेकी आमाको आफ्नै घरमा राखेर सबिनाले स्याहार सुसार मात्रै गरिनन, पुस १३ गते निधन भएकी दिवंगत आमाको पशुपति आर्यघाटमा दाहसंस्कार गरि हिन्दु धर्म संस्कृति अनुसार कोरामा बसेर काजकिरीया समेत गर्दैछिन । छोरा छोरी दुबै बराबरी भन्ने कानूनी व्यवस्था भैसक्दा समेत समाजका अग्रज अर्थात् बुद्धीजिवि तथा राजनैतिक दलका केही नेताहरुले समेत छोरीको अस्तित्वलाई अस्वीकार गरिरहेको अवस्थामा सविना र उनका श्रीमान्ले गरेको यो कार्य उदाहरणीय काम हो ।

आफु जिवीत हुँदाहँुदै पनि दिवंगत सासुको अन्तिम संस्कार र काजकिरीया गर्न सबिनाका पति शंकरले केसीले पत्नि सबिनालाई यतिखेर पुर्ण साथ दिइरहनुभएको छ । यो घटना मृत्यु पर्यन्त बाबु आमाको किरीया गर्न छोरा नै चाहिन्छ भन्दै लिंग पहिचान गरि भ्रुण हत्या गर्ने वर्तमान समाजको लागि एउटा जल्लो बल्दो उदाहरण पनि हो ।

यस अघि विक्रम संवत् २०७३ साल चैत्र १० गते ललितपुर महानगरपालिका ४ धोविघाट निवासी भीम बहादुर बस्नेतको मृत्यु हुँदा उहाँकी विवाहित छोरी ज्योति बस्नेतले हिन्दु परम्परा अनुसारनै दागबत्ती दिएर बुबाको काजकिरीया गर्नुभएको थियो ।

पत्रकार बलराम प्यासीले आफ्नो ससुराको काजकिरीयाका लागि ज्योतिलाई साथ दिँनुभएको थियो । समाजमा छोरा र छोरीको विभेद्को अन्त्यका लागि यस्ता कार्य गर्नु जरुरी छ प्यासी भन्नुहुन्छ । नर्सिङ पेशा गर्ने छोरीले आमाको किरीया गरेको अर्थात सार्वजनिक भएको घटना भने सायद यो नै पहिलो होला ।